कोरोना संक्रमण र रुकुम घटनाले संसद तात्यो
काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रण र रुकुम घटनाले संसद तताएको छ । कोरोना संक्रमाण रोकथामका लागि आवश्यक तयारीलाई चुस्त दुरुस्त पार्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।
कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढिरहँदा भारतीय सीमा र तराईका जिल्लामा परीक्षण किटको अभाव भएको भन्दै सांसदहरुले आवश्यक स्वास्थ्य सामग्री आपुर्तिको व्यवस्थालाई चुस्त दुरुस्त राख्न जोडदार माग गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले क्वारेन्टिन र आइसोलेसनको संख्या बढाउनुको साथै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टिनलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
त्यसैगरी रुकुमपश्चिमको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा कारवाही गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले काठमाडौंका नाकामा रातभर आवतजावत भईरहेको भन्दै नाका सिल गरि काठमाडौंमा क्वारेन्टिन क्षमता बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
त्यस्तै सांसदहरु राजबहादुर बुढा क्षेत्री, सांसद रेखा शर्मालगायतले भारतबाट आउने नेपालीहरुसँगै कोरोना पनि आउने भएकाले नियन्त्रण तथा रोकथामका लागि आवश्यक जनशक्ति र भौतिक पूर्वाधार निर्माणका लागि केन्द्र र प्रदेश सरकारले स्थानीय तहलाई रकम उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।
सांसद मातृका प्रसाद यादवले सरकारले कोरोना नियन्त्रणका लागि गरिरहेका प्रयासहरु प्रयाप्त नभएको भन्दै यसको दीर्घकालिन व्यवस्थापनतर्फ ध्यान दिन आग्रह गरेका छन्।
त्यस्तै सांसद मिनबहादुर विश्वकर्माले रौतहटको राजपुर नगरपालिका र रुकुमपश्चिमको चौरजहारी घटनाले सरकार जनताको सुरक्षा गर्न सक्षम नभएको देखाएको आरोप लगाएका छन् ।
मानवीय जीवनका लागि अत्यावश्यक पर्ने गाँस र सुरक्षाको व्यवस्था गर्न नसकेकाले सरकारले जनताको विश्वास गुमाउँदै गएको उनले बताए।
त्यस्तै सांसद बिमला नेपालीले रुकुम पश्चिम चौरजहारीमा भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै घटनामा ज्यान गुमाउने सबैलाई सामाजिक रुपान्तरणको शहिद घोषणा गर्न माग गरेकी छिन ।
सांसद लक्ष्मी परियारले जातिय विभेद र छुवाछुत अन्त्यका लागि सरकार संवेदनशील नभएको आरोप लगाउँदै उनले ६० लाख दलित समुदायलाई मारेर सिध्याउने हो भन्ने प्रश्न गरेकी छिन् ।