रुकुम घटनाका दोषीलाई कानूनी कारवाहीको माग

काठमाडौं । जेठ १० गते भेरी नपा वडा नं. ४ रानागाउँ जाजरकोट निवासी नवराज विक र चौरजहाारी नगरपालिका वडा नं. ८ निवासी युवतीबीचको प्रेम विवाह सम्वन्धी घटनालाई जातीय साम्प्रदायिकता भड्काएर सामाजिक सद्भाव विथोल्ने गरी भएको अपराधिक हत्याकाण्डको संज्ञा दिँदै जनता समाजवादी पार्टी नेपाल गुल्मी जिल्ला घोर भत्र्सना गरेको छ ।
जनता समाजवादी पार्टी नेपाल, जिल्ला समन्वय समिति, गुल्मीका अध्यक्ष वीरबहादुर गुरुङले एक विज्ञप्ति प्रकाशित गर्दै मृतकका परिवारलाई तत्काल उचित क्षतिपूर्ति उपलव्ध गराउन माग गर्दै घटनाबारे छानविन गरी हत्यारालाई कानूनी कार्वाही गर्न संघीय सरकार र प्रदेश नं. ५ सरकारसँग जोडदार माग गरेका छन् ।
अध्यक्ष गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ –“मुलुक धर्मनिरपेक्ष राज्य र छुवाछुत मुक्त राष्ट्र घोषणा भइ सम्वैधानिक तथा कानूनी व्यवस्था मै सजायको व्यवस्था समेत भएको आजको २१ औं शताव्दीको मावन सभ्यतालाई नै उपहास गर्ने र राज्यको कानूनलाई ठाडो चुनौती दिने गरी घटना घट्नु घोर अमानवीय र निन्दनीय छ । मुलुकी अपराध संहिता २०७४ र छुवाछुट तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ अन्तर्गत कानुनी दायरामा ल्याइ हदैसम्मको सजाय माग गर्दछौं । घटनामा परी मृत्यु भएका मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।”