आगामी आवको बजेट रु १४ खर्ब ७४ अर्ब ६४ करोड
कोरोना नियन्त्रण गर्न छ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि रु रु १४ खर्ब ७४ अर्ब ६४ करोड प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त रकम विनियोजन गरिएको बताउनुभयो । गत वर्ष चालू आवका लागि रु १४ खर्ब ७४ अर्ब ६४ करोड ७१ लाखको बजेट पेश भएको थियो । आगामी आवको बजेटको आकार चालू आवका लागि निर्धारण गरिएको भन्दा रु ५८ अर्बले कम हो ।
कूल वार्षिक विनियोजनमध्ये चालूतर्फ रु नौ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४ दशमलब ४ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३ दशमलव ९ प्रतिशत छ ।
त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ रु एक खर्ब ७२ अर्ब ७९करोड अर्थात् ११ दशमलव ७ प्रतिशत छ ।
आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु आठ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट रु ६० अर्ब ५२ करोड तथा वैदेशिक ऋणबाट रु दुई खबै ९९ अर्ब ५० करोड जुटाइने अर्थमन्त्रीले बताउनुभयो । यसैगरी आन्तरिक ऋणबाट रु दुई खर्ब २५ अर्ब स्रोत व्यवस्थापन गरिनेछ ।
कोरोना नियन्त्रण गर्न छ अर्ब बजेट
सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब बजेट विनियोजन गरेको छ । आज सङ्घीय संसद्मा बजेट आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषणमा अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न तत्काल आवश्यक पर्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन रु छ अर्ब बजेट व्यवस्था गरिएको बताउनुभयो ।
उहाँले बजेट भाषणमा कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रण तथा थप विस्तार हुन नदिनका लागि उच्च जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउन गुणस्तर सहितको थप क्यारेन्टाइनको स्थापना भरपर्दो उपचार सेवा प्रवाह गर्न र नागरिकमा भएको मनोवैज्ञानिक त्रासलाई सम्बोधन गर्न आवश्यक स्रोतको व्यवस्था मिलाइएको समेत बताउनुभयो ।
अहिले कोरोना भाइरसका कारणले एक हजार ४२ जनामा सङ्क्रमण देखिएको छ भने पाँच जनाको मृत्यु भएको छ । चिकित्सक, स्वास्थ्यकर्मी तथा प्रयोगशालामा काम गर्ने कर्मचारीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) र सेवामा उत्प्ररित गर्न प्रोत्साहन भत्ताको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
बजेटमा कोरोनालगायत अन्य सङ्क्रामक रोगविरुद्ध कार्यरत रहेका सबै स्वास्थ्यकर्मीलाई रु पाँच लाखसम्मको निःशुल्क स्वास्थ्य जीवन बीमा बजेटमा गरिएको उहाँले बताउनुभयो । आगामी वर्ष काठमाडौँ उपत्यकामा ३०० श्ययाको सुविधा सम्पन्न छुट्टै सरुवा रोग अस्पताल निर्माण गर्नका लागि बजेट विनियोजन गरिएको छ ।
काठमाडौँ उपत्यका र बाहिरका सरकारी अस्पतलामा थप २५० श्ययाका सघन उपचार कक्ष निर्माण र सबै प्रदेश राजधानीमा ५० श्ययाका सरुवा रोग अस्पताल सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ । बजेटमा पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी र डडेल्धुरा अस्पतालको स्तरोन्नति गरी विशेषज्ञ अस्तपालका रुपमा विकास गर्दै लगिने उल्लेख गरिएको छ ।
पूर्वाधारमा १२ अर्ब ४६ करोड
सरकारले स्वास्थ्य विकास पूर्वाधारका लागि रु १२ अर्ब ४६ करोड विनियोजन गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकुलाई क्षमता विस्तार गरि अन्तरराष्ट्रिय मापदण्डअनुरुपको बनाइने अर्थमन्त्री डा खतिवडाले उल्लेख गर्नुभयो ।
सबै प्रदेश राजधानीमा अत्याधुनिक स्वास्थ्य प्रयोशगाला स्थापना गर्न सवै स्वास्थ्य संस्थामा उपचारका लागि आवश्यकीय प्रयोगशाला विस्तार गर्न तथा रोग निदान तथा फार्मेसी सेवा सञ्चालन गर्न र विदेशबाट आउने व्यक्तिको अनिवार्य स्वास्थ्य जाँच गर्न प्रमुख प्रवेश नाकामा आवश्यक उपकरणसहितको स्वास्थ्य डेस्क स्थापना गरिने बजेटमा विनियोजन गरिएको छ ।