राजपा र समाजवादीले गराए संविधान संशोधन विधेयक दर्ता
काठमाडौं । संविधान घोषणा भएदेखि नै विरोध गर्दै आएका मधेशवादी दलहरु राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले सोमबार संयुक्त रुपमा ९ बुँदे संशोधन प्रस्ताव दर्ता गराएका छन्। उनीहरुले संविधान संशोधन नभई स्वीकार गर्न नसक्ने बताउँदै आएपनि सोही संविधान अनुसार निर्वाचनमा भाग लिएर सांसद, मन्त्री, प्रदेश, स्थानीय जनप्रतिनिधि भइसकेका छन् ।
शुक्रबार राजपाका नेताहरु संशोधन दर्ता गराउन संसद सचिवालय सिंहदबार पुगे पनि दर्ता भएको थिएन।
आइतबार राजपाले समाजवादी पार्टीसँग छलफल गरेपछि सोमबार साँझ गैरसरकारी विधेयक दर्ता गरेका हुन ।
संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार उनीहरुको संविधान संशोधन विधेयक गैरसरकारी विधेयकको रुपमा आज साँझ ५ः३० मा दर्ता भएको छ।
विधेयकको प्रस्तुतकर्तामा लक्ष्मण लाल कर्ण र राजेन्द्र श्रेष्ठ रहेको बताइएको छ । सरकारले नयाँ नक्सा अनुरूप निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक अगाडि बढाएलगत्तै समाजवादी र राजपाले पुरानो संविधान संशोधनको माग अघि सारेर संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।