गुल्मीमा थप एक जनामा कोरोना भाइरस पुष्टि, एक जना निको
गुल्मी । गुल्मीमा सोमवार थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१० का २६ वर्षिय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनी गत जेठ १० गते भारतको मुम्बईबाट आई सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक बिद्यालयमा बनाईएको क्वारेन्टाइनमा रहेका थिए ।
क्वारेन्टाइनमा रहेको अवस्थामा जेठ १६ गते खोकी र छाँती दुख्ने समस्या आएको बताए पछि उनको आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएको थियो । सोही दिन नै पीसीआर परिक्षणका लागि पठाईएको थियो ।
पीसीआर परिक्षण गर्दा उनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले जानकारी दिए । उनलाई अहिले उपल्लो तम्घासमा बनाईएको आइसुलेशनमा राखेर उपचार भईरहेको अर्यालले बताए । उनको अवस्था सामान्य रहेको अर्यालको भनाई छ ।
यससँगै गुल्मीका पाँचजनामा कोरोना भाइरस पुष्टि भएको छ । जसमा मदानेका एक जनाको मृत्यु भइसकेको छ । एक जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
दाङको तुल्सीपुर नगरपालिका घर भई गुल्मीको मदाने गाउँपालिकास्थित बैंकमा कार्यरत ३१ वर्षीय एक पुरुष कोरोना निको भएर सोमबार डिस्चार्ज भएका हुन् । भने तीन जना उपचाररत रहेका छन् ।