विश्व बैंकद्वारा नेपालका लागि १२ अर्ब ऋण सहयोग स्वीकृत

काठमाडौं । विश्व बैंकले नेपालका लागि १० करोड अमेरिकी डलर (करीव १२ अर्ब रुपैयाँ) ऋण सहायता स्वीकृत गरेको छ । कोभिड १९ को प्रभाव न्यूनिकरण तथा विद्यूत क्षेत्रको सुधारमा लागि यो रकम खर्च गरिने बताइएको छ ।
बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकबाट ऋण सहायता स्वीकृत भएको विश्व बैंकले जनाएको छ । यो रकम डेभलपमेन्ट पोलिसी क्रेडिट (डीपीसी) अन्तर्गत प्राप्त भएको हो ।
विश्व बैंकले नेपाल विद्युत प्राधिकरणको वित्तीय क्षमता अभिवृद्धिमा लगानी गर्ने भएको छ । विद्युत् क्षेत्रमा थप आर्थिक सम्भाब्यताको खोजी गर्न गर्नुपर्ने नीतिगत, नियमन र संस्थागत सुधारमा विश्व बैंकको सहायता उपयोग हुने बैंकले जनाएको छ ।
प्राधिकरणको पुर्नसंरचना गरी संघीयता अनुसार बलियो संस्थामा रुपान्तरण गर्न र त्यहाँबाट विद्यूत क्षेत्रको अधिकतम सम्भावनाको खोजी गर्ने समेत बैंकले उल्लेख गरेको छ ।