हाम्रो संविधान संशोधन प्रस्ताव सरकारी प्रस्तावको काउण्टर हैन : सांसद श्रेष्ठ
काठमाडौं । समाजवादी पार्टीका सह– अध्यक्ष तथा संघीय सांसद राजेन्द्रप्रसाद श्रेष्ठले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी, नेपालले सोमबार संघीय संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन सम्बन्धी गैर सरकारी विधेयक सरकारी विधेयकको काउण्टर प्रस्ताव नभएको स्पष्ट पारेका छन् ।
श्रेष्ठले भनेका छन्, “२३ बुँदे संयुक्त प्रस्ताव पार्टीले लामो समयदेखि उठाउँदै आएका माग र मुद्दासंग जोडिएको विषय हो । हामीले संविधान संशोधन हुनपर्ने कारण र माग सहितको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका छौं र संविधान संशोधन गर्नुपर्ने कुरामा हाम्रो अडान स्पष्ट पारेका छौं ।”
सरकारको निशान छाप परिवर्तनको प्रस्तावका सन्दर्भमा सोधिएको प्रश्नमा उनले नेपालको भूभाग समेटिने गरी सुगौली सन्धि अनुरुपको निसान छाप बनाउन संविधान संशोधन गर्ने सरकारी प्रस्ताव आएको छ यसमा पार्टीको पूर्ण समर्थन रहेको समेत उनले बताएका छन् ।
सांसद श्रेष्ठले राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भूअखण्डताको विषयमा कसैसँग सौदावाजी गर्न नहुने कुरा स्पष्ट पारेका छन्।