व्यवसायीलाई प्रहरीले धरपकड गरेकोमा होटल व्यवसायी मञ्च गुल्मीको ध्यानाकर्षण
गुल्मी । होटल व्यवसायी मञ्च गुल्मीले होटल व्यवसायीलाई प्रहरीले धरपकड गरेको भन्दै ध्यानाकर्षण जनाएको छ । होटल व्यवसाय सञ्चालन नभएको समयमा पनि केही खाजाघरहरुलाई व्यवसाय सञ्चालन गरेको भन्दै प्रहरीद्धारा धरपकड गरेको भन्दै गम्भिर ध्यानकर्षण जनाएको हो ।
सदरमुकाम तम्घासमा केही रेष्टुरेष्ट व्यवासायीहरुलाई पसल सञ्चालन नभएको अवस्थामा पनि सञ्चालन गरेको भन्दै व्यवसायी माथि गरिएको धरपकडप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको होटल व्यवसायी मञ्चका अध्यक्ष भेषराज कंडेलले बताए ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ लाई मध्यनजर गरी गरिएको लकडाउनलाई होटल व्यवसायीहरुले पुर्ण रुपमा पालना गरेकोले गलत सुचनाको भ्रममा नपर्न समेत सम्बन्धित निकायलाई अध्यक्ष कंडेलले आग्रह गरे ।
विगत केहि समयदेखि बैङ्क तथा वित्तिय संस्थाहरु सञ्चालन भएसँगै त्यस समयमा पानी, खाजा तथा खानाको व्यवस्था गर्नुपर्ने आवश्यक देखिएको उनले बताए । सोही आवश्यकतालाई ध्यानमा राख्दै सुरक्षा, सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरेका छन् ।
‘अहिले पेन्सन क्याम्प पनि सञ्चालन भएको छ । वित्तिय संस्था सञ्चालन हुँदा गाउँबाट सदरमुकाममा सेवाग्राही आउँदा भिडभाड हुने देखिन्छ ।’ उनले भने ‘उनीहरु सामान्य खाजा र पानी समेत नखाई फर्किनु पर्ने अवस्था छ । उनीहरुलाई तातो पानी र खाजा उपलब्ध गराउनु व्यवसायीको धर्म पनि हो ।
यस समयमा उनीहरुको सहजताका लागि चिया पसल, साना खाजाघर एव्म होटलहरु सामाजिक दुरी कायम गरी स्वास्थ्य सजगता अपनाई सञ्चालनका लागि सहयोग गर्न जिल्ला प्रशासान कार्यालयको ध्यानाकर्षण गराईएको छ ।
अध्यक्ष कंडेलले बिहिबार नै सोही बिषयलाई लिएर प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मालाई होटल व्यवसाय सञ्चालनका लागि अनुमति दिन निवेदन दिएका छन् । सरकारले कर बुझाउनका लागि तोकता गरेको र लकडाउनको समयमा व्यवसाय सञ्चालन नहँुदा आफुहरु मर्कामा परेको बताए । यसअघि होटल व्यवसायी मञ्च गुल्मीले होटल व्यवसायीहरुको लागि बिशेष राहत प्याकेजका कार्यक्रम ल्याउन समेत माग गरेको थियो ।