नयाँ संविधानको मस्यौदा गर्दै समाजवादी कांग्रेस !
काठमाडौं । नेपाल समाजवादी कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भुमि भएकोले त्यसलाई स्वामित्वमा ल्याउन वर्तमान सरकारबाट पहल नगरे शासन सत्ता अन्त्यको निम्ति शसक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
आइतबार बसेको सो पार्टीको केन्द्रिय समितिको बैठकले सरकारले नेपाली भूमि फिर्ता ल्याउन नसके आफूहरुले आन्दोलन गर्ने र आन्दोलनकै क्रममा भारतसँग वार्ता पहल गर्ने निर्णय पनि गरेको सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
देशको विभिन्न परिस्थितिको बारेमा छलफल गर्दै सो पार्टीले रुकुम घटना अमानवीय भएको जनाउँदै दोषी उपर कारबाही गर्न सरकारसँग माग पनि गरेको छ ।
त्यस्तै पार्टीले अघि सारेको विश्व संवैधानिकता, संवैधानिक प्रजातन्त्र, हिन्दुराज्य, स्थानीय स्वशासन, समाजवादी अर्थनीति, राजसंस्था, भन्ने नीति महत्त्वपूर्ण भएकोले त्यसको ब्याख्या गर्न पार्टी अध्यक्ष गोविन्द निरौलालाई जिम्मा दिने निर्णय गरेको बताइएको छ ।
त्यस्तै कोरोना महामारीबाट ज्यान गुमाएका सबै जनताहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडितप्रति सरकारको तर्फबाट उचित उपचार गर्न माग गर्दै निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
राज्यमा देखिएको जातीय, क्षेत्रीय र लिङ्गिय विभेदको अन्त्य गर्न वर्तमान शासन सत्ताको अन्त्य र संघीयता, धर्मनिरपेक्षताको खारेजी आवश्यक भएको कुरा निष्कर्ष निकाल्दै पार्टीले मधेस मुद्दाको दीर्घकालीन समाधान गर्न २०३३ पछि अनियमित तरीकाले वितरण गरिएका सबै खाले नागरिक प्रमाणपत्रहरु खारेज गर्नुपर्ने निष्कर्ष निकालेको पनि विज्ञप्तिमा उल्लेख छ ।
त्यसका लागि सशस्त नागरिक आन्दोलन हुन आवश्यक भएको निचोड निकाल्दै समाजवादी कांग्रेसले आन्दोलनकै अभियानमा नयाँ संविधान जारी गर्नुपर्ने अवस्थालाई ध्यानमा राखेर अब बन्ने नयाँ संविधानको मस्यौदा तयार गर्न पार्टी अध्यक्ष निरौलालाई जिम्मा दिएको र उक्त मस्यौदा आगामी महिना दिनभित्र तयार गरी पार्टीमा छलफल हुने कुरा पार्टीका सचिव मानबाहादुर गुरुङले बताएका छन् ।