नेपालमा थपिए ३ सय २३ कोरोना संक्रमित / संक्रमितको संख्या ४ हजार ८५ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय २३ जना कोरोना भाइरसका संक्रमितहरु थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय २३ जना कोरोना संक्रमित थपिएको र उनीहरुमध्ये २ सय ९२ जना पुरुष र ३१ जना महिला रहेका छन् ।
आज थपिएका समेत गरी नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८८ पुरुष र ८ महिला गरी ९६ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५८४ पुगेको छ। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमित भेटिएका छ भने कोशी अस्पतालमा गरिएको परीक्षणमा इलामका १ जनामा कोरोना संक्रमित भेटिएका छन्। इलाममा पहिलोपटक कोरोना संक्रमित भेटिएको हो।
त्यस्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरीका १ र सप्तरीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भरतुपरमा गरिएको परीक्षणमा चितवनका २४, नवलपुरका ३, धादिङका १, कपिलवस्तुका १ र सप्तरीका एक जनामा पनि कोरोना संक्रमण भेटिएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन्।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा म्याग्दीका १, नवलपरासीका १२ र बाग्लुङका ११ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा धनुषाका २१, महोत्तरीका १९ र सर्लाहीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा दाङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनामा संक्रमण देखिएको छ।

सुर्खेतको प्रयोगशालामा सल्यानका १२ र सुर्खेतका ४ जनामा कोरोना संक्रमित पुष्टि भएका छन् भने सेती अस्पतालको प्रयोगशालामा दार्चुलाका १०, कञ्चनपुरका १९, डडेल्धुराका ७ र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रुपन्देहीका २२ जना र कपिलवस्तुका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषामा २४, कपिलवस्तुका ७, महोत्तरीका ३१, नवलपरासी पश्चिमका १२ जना, नुवाकोटका २ जना, रौतहटका २१ जना, सर्लाहीका १६ र सिराहाका १२ जनामा पनि मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ।
प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।