भण्डारीको निधनले गुल्मीलाई अपरर्णीय क्षति

बुबाको प्रेरणाबाट विचलित नहुने नेता डा. भण्डारीको प्रतिज्ञा

गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा. चन्द्र भण्डारीलाई पितृशोक परेको छ । डा. भण्डारीका बुबा ईश्वरीप्रसाद भण्डारीको ८७ वर्षको उमेरमा सोमबार राती आफ्नै निवास बुटवलमा निधन भएको हो ।
स्व. भण्डारीको अन्तिम दाहसंकार मंगलबार गुल्मीको रिडीमा गरिएको छ । स्वर्गीय भण्डारीको पार्टीको चारतारे झण्डा ओढाई अन्तिम दाहसंस्कार गरिएको नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले बताए ।
सभापति श्रेष्ठले भण्डारीको निधनले नेपाली कांग्रसले एक अभिभावक गुमाउनु परेको बताए । उनले स्वर्गीय भण्डारीले नेपाली कांग्रेसलाई पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीका अध्यक्ष मधुकृष्ण पन्त, प्रदेश सभासद कमल श्रेष्ठ, पूर्व मूख्य सचिव लिलामणि पौडेल, रुरु गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम लगायतले स्वर्गीय भण्डारीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
श्रद्धाञ्जली सभाको सञ्चालन नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले गरेका थिए ।
श्रद्धाञ्जली सभामा शुभचिन्तक, आफन्तजन, प्रजातन्त्रप्रेमी विभिन्न राजनैतिक दलका नेता, कार्यकर्ता लगायतको उल्लेखीय उपस्थिति रहेको थियो ।


नेता चन्द्र भण्डारीले बुबाको प्रेरणाबाट विचलित नहुने प्रतिवद्धता जनाएका छन् । उनले बुबाको निधनपछि सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन् “हाम्रा परमपूज्य बुवा श्री ईश्वरी प्रसाद भण्डारीले ८७ वर्षको उमेरमा आफ्नो भौतिक शरिरबाट बिदा लिनु भएको छ । बुवा हजुर एक सच्चा, ईमानदार, कर्तव्यनिष्ठ समाजसेवी का रुपमा हजुरको परिचय विशिष्ट छ। बाल्यकाल देखिनै हजुरबाट हामीले सिकेको ‘आफ्नो माटो, बाटो र आफ्ना जनता नचिन्ने व्यक्तिको जीवन व्यर्थ हो’। जुन बुझाईलाई मानव जीवनले ग्रहण गर्नु पर्दछ । हजुरको प्रेरणाबाट विचलित नहुने प्रतिज्ञाका साथ हजुरलाई अश्रुसुमन सहित हार्दिक श्रद्धाञ्जलि एवम् बैकुण्ठबासको कामना ।”

स्वर्गीय भण्डारी लामो समयदेखि दमले ग्रसित रहेका थिए । स्व. भण्डारीका दुई श्रीमति, पाँच छोरा एक छोरी रहेका छन् । उनका एक छोरा फणिन्द्रको केही वर्षअघि निधन भएको थियो ।
यसैबीच नेकपा नेता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल फेवसुकमार्फत स्वर्गीय भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । ज्ञवालीले लेखेका छन् “मेरा प्रिय मित्र, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य चन्द्र भण्डारीज्यूका पुजनीय बुवा श्री इश्वरी प्रसाद भण्डारीज्युको ८७ वर्षको उमेरमा भएको निधनको खबरले स्तव्ध भएको छु । यस दुखद घडीमा दिवंगत बुवाप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै चन्द्रजी सहित मिनप्रसाद भण्डारी, देवि भण्डारी, डा. शंकर भण्डारी एवं हरिहर भण्डारी लगायत शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।”
त्यस्तै नेकपा नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले पनि स्व. भण्डारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले लेखेका छन् “हाम्रा मित्र एवं नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीका बुवा ईश्वरी प्रसाद भण्डारीज्युको ८७ वर्षको उमेरमा आज भएको निधनले मलाई अत्यन्त दुःखी बनाएको छ । यो दुःखको क्षणमा स्वर्गीय बुवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मित्र चन्द्र भण्डारी सहित शोकसंतप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।”

यसैबीच यस रेसुङ्गा मिडिया, रेसुङ्गाटुडे डटकम र रेसुङ्गा टुडे साप्ताहिकका अध्यक्ष तथा सम्पादक गोविन्दबहादुर पाण्डेले इश्वरी प्रसाद भण्डारीज्युको निधनको खबरले आफू स्तव्ध भएको जनाएका छन् । सम्पादक पाण्डेले दिवंगत भण्डारीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै नेता डा.चन्द्र भण्डारी, मिनप्रसाद भण्डारी, देवि भण्डारी, डा. शंकर भण्डारी एवं हरिहर भण्डारी लगायत शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।