कुन देशका नेपालीको कहिले हुँदैछ उद्दार ?

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि विश्वका अधिकांस मुलुकमा लकडाउन छ । स्वरुप मात्र फरकफरक छ । कतिपय देशहरुले लकडाउन हटाएका छन् भने कतिपयले खुकुलो बनाएको छ ।
नेपालले चैत ११ गतेदेखि शुरु गरेको लकडाउन आजबाट केही खुकुलो बनाएपनि सार्वजनिक यातायात र हवाई उडान खोलेको छैन । लकडाउनका कारण स्वदेश फर्किन नपाएका नेपालीहरु लाखौं छन् । उनीहरु मध्ये समस्यामा परेकाहरुलाई सरकारले उद्दार शुरु गरेको छ । म्यानमार, दुवइलगायतका देशबाट केही नेपाली ल्याइसकिएको छ भने सरकारले विदेशमा समस्यामा परेका नेपालीहरुको उद्दारका लागि तालिम बनाएको छ ।
विदेशका नेपालीहरुलाई राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी जहाजहरुले उद्धार गर्नेछन् । नेपाल एयरलाइन्सका वाइडबडी र न्यारोबडी दुवै जहाज तथा हिमालय एयरलाइन्सको न्यारो बडी जहाज नेपालीहरुको उद्धारमा परिचालित छन् ।
बिहीबार कुवेतबाट फ्लाइटबाट करिब ३ सय महिला श्रमिक फर्किंदै छन् । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको सरकारले जनाएको छ ।
कुवेतबाट एउटा फ्लाइट साढे ११ बजे र अर्को फ्लाइट दुई बजेतिर काठमाडौं आउने बताइएको छ ।
पर्यटन मन्त्रालयले सार्वजनिक गरेको उडान तालिका अनुसार तत्कालका लागि नेपाल एयरलाइन्सको २४ र हिमालय एयरलाइन्सको १९ उडान हुनेछन् भने २४ वटासम्म विदेशी उडान पनि हुने तालिकामा उल्लेख छ ।
‘यी उडानबाट करिब १२ हजार नेपालीहरु आउँछन् । यी उडान गरिसकेपछि स्थितिको थप विश्लेषण गरेर निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

पीसीआर वा आरडीटी नेगेटिभ रिपोर्टको प्रमाणपत्र भएकाहरुलाई मात्र उद्दार गरिने बताइएको छ । विदेशबाट उद्धार गरिएकाहरुलाई होटल क्वारेन्टिनमा राख्ने सरकारको नीति छ । क्वारेन्टिनको रूपमा प्रयोग गर्ने होटलहरुको व्यवस्था भइसकेको छ ।

उडान तालिका यस्तो छ :
– जुन १४ तारिखमा बंगलादेशको ढाकाबाट दुई वटा फ्लाइट छन् ।
– जुन १५ तारिखमा नेपाल एयरलाइन्सले माले र क्वालालम्पुरबाट नेपालीहरुलाई ल्याउने छ भने हिमालय एयरलाइन्सले साउदी अरब र सिंगापुरका नेपालीहरुलाई ल्याउने छ ।
– जुन १६ मा युएई र कतारबाट नेपाल एयरलाइन्सले तथा कुवेत, र श्रीलंका र मालेबाट हिमालय एयरलाइन्सले नेपालीहरुलाई स्वदेश ल्याउने छ ।
– जुन १७ मा अष्ट्रेलिया, बैंकक र बहराइनबाट नेपाल एयरलाइन्सको उडान हुने छ भने हिमालय एयरलाइन्सले बंगलादेश र कतारबाट उडान भर्ने छ । सोही दिन अमेरिकाबाट एक विदेशी एयरलाइन्सको उडान हुने छ ।
– जुन १८ मा नेपाल एयरलाइन्सले साउदी र युएईका नेपालीहरुलाई काठमाडौं ल्याउने छ भने हिमालय एयरलाइन्सले क्वाललम्पुर र मस्कटबाट नेपाली ल्यानेछ ।
– जुन १९ मा नेपाल एयरलाइन्सले जापान र कुवेत नेपाली ल्याउने छ भने हिमालय एयरलाइन्सले साउदी र नाइजेरीबाट ।
– २० जुनमा साइप्रस, क्वालालम्पुर र कतारबाट नेपाल एयरलाइन्सका तीन उडान हुने छन् । हिमालय एयरलाइनसले युएई र बंगलादेशबाट नेपालीहरुलाई ल्याउने छ । सोही दिन ईयूको एउटा फ्लाइट हुने छ ।
– २१ जुनमा नेपाल एयरलाइन्सले दक्षिण कोरिया र मस्कट (ओमान)बाट नेपालीहरुको उद्धार गर्ने छ भने हिमालय एयरलाइन्सले कुवेत र क्वालालम्पुरबाट ल्याउने छ ।
– २२ जुनमा नेपाल एयरलाइन्सले अष्ट्रेलिया र बैंककबाट नेपााली ल्याउने छ भने हिमालय एयरलाइन्सले पाकिस्तान र कतारबाट ।
– २३ जुनमा नेपाल एयरलाइन्स जापान र मालेबाट उद्दार गर्ने छ भने हिमालय एयरलाइन्सले युएई र युगान्डाबाट ।
– २४ जुनमा नेपाल एयरलाइन्सले साउदी र कुवेतका नेपालीहरुलाई उद्धार गर्ने छ ।
– २५ जुनमा नेपाल एयरलाइन्सको वाइड बडीले जापानका नेपालीलाई उद्धार गर्ने छ भने हिमालय एयरलाइन्सले साइप्रस/इजरायलबाट ।