गुल्मीमा प्रयोगशाला र आइशोलेसन सेन्टर स्थापना हुने

गुल्मी । गुल्मीमा कोभिड–१९ परीक्षण प्रयोगशाला र नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम सुविधायुक्त आइशोलेसन सेन्टर स्थापना हुने भएको छ । कोभिड–१९ परीक्षण प्रयोगशालाको स्थापना रेसुङ्गा नगरपालिका–९ स्थित महिला बालबालिका कार्यालयको नवनिर्मित भवनमा गरिने भएको हो ।
शनिबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पीसीआर परिक्षणको लागि आवश्यक परीक्षण प्रयोगशाला प्रयाप्त नहुँदा नतिजा आउन ढिलाई हुने भएपछि सो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
पीसीआर परिक्षणको नतिजा आउन ढिलाई हुँदा जनतामा बढी निरासा छाएको जनगुनाँसो बढदै गएको परिस्थितिलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको प्रजिअ शर्माले जानकारी दिए ।
कोभिड–१९ परीक्षण प्रयोगशाला स्थापनाको लागि आवश्यक मेशिनरी उपकरण जडान सहितको सम्पूर्ण निर्माण कार्य रेसुङ्गा नगरपालिकाले गर्नेछ । भने सञ्चालन तथा व्यवस्थापनको लागि गुल्मी अस्पताललाई हस्तान्तरण गर्ने निर्णय भएको प्रजिअ शर्माले बताए ।
यसका लागि स्थानीयतहबाट आर्थिक संकलन् गरिने भएको छ । प्रयोगशालामा आवश्यक पर्ने मेशिनरी उपकरण, जनशक्ति व्यवस्थापनका लागि जिल्ला भित्रका सवै पालिकाहरुले विशेष कार्यविधि बनाई आर्थिक संकलन् गरिने बताईएको छ ।
यसका लागि प्रति नगरपालिकाले रु पन्ध्र लाखका दरले र प्रति गाउँपालिकाले रु दश लाखका दरले रेसुङ्गा नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन कोषमा रकम उपलब्ध गराउने निर्णय भएको प्रजिअ शर्माले उल्लेख गरे ।
कोभिड–१९परीक्षण प्रयोगशाला स्थापना तथा सञ्चालन गर्नको लागि आवश्यक पर्ने भवन, मेशिनरी उपकरण औषधि, जनशक्ति व्यवस्थापन तथा अन्य व्यवस्थापकिय सहयोगका लागि विभिन्न निकायलाई अनुरोध गरिने बताईएको छ ।
कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिहरुको शव व्यवस्थापनका लागि यस जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रभित्र १÷१ वटा रहने गरी सम्बन्धित पालिकाहरुको आपसी समन्वयमा शववाहन खरिद गर्ने निर्णय भएको छ ।
शववाहनको व्यवस्था नहुन्जेल सववाहन भाडामा लिने बताइएको छ । कोभिड–१९ संक्रमणबाट ज्यान गुमाउनेहरुको परिवारका लागि काजकिरिया खर्च बापत प्रति परिवार पच्चीस हजारका दरले राहत स्वरुप सम्बन्धित पालिकाले उपलब्ध गराउने बताईएको छ ।