कांग्रेस जिल्ला समितिले बुझाए सरकारलाई ज्ञापन पत्र
अग्रपंक्तिमा रहेर कोरोनासँग लड्नेको १ करोडको बिमा गर्नुपर्ने
काठमाडौं । नेपाली कांग्रेसका ७७ वटै जिल्ला कार्यसमितिहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेसले पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुको सरकारले निःशुल्क एक करोड रुपैयाँको बिमा गर्नुपर्ने माग गरिएको छ ।
कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, सरक्षाकर्मी र संचारकर्मीहरुको सरकारले प्रतिव्यक्ति एक करोडको बिमा गर्न माग गरेको हो।
कांग्रेसले सरकार जनसरोकारका समस्या सम्बोधन गर्न असफल भएको वताउँदै आएको छ । सरकार भ्रष्टाचारमा लिप्त भएको, महामारीको समयमा आफ्ना कार्यकर्ता पाल्नमा मात्र तल्लित भएको र जनताहरुको समस्या सम्बोधन गर्नेगरी अगाडि नबढेकाले प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन उल्लेख छ ।
कांग्रेस जिल्ला कार्यसमितिले राहत न्यायपूर्ण ढंगबाट वितरण गर्नुपर्ने, शैक्षिक संस्था, औद्योगिक क्षेत्र, होटल व्यवसाय, सम्पूर्ण आर्थिक क्षेत्रको पुनरोत्थानको लागि विशेष कार्ययोजना सहित राहत प्याकेज घोषणा गर्नुपर्ने माग पनि गरेको छ। क्वारेन्टाइनको सुधार गर्नुपर्ने, पिसिआर परीक्षण बढाउनुपर्ने माग पनि कांग्रेसले गरेको छ ।