नेपाली काँग्रेस गुल्मीद्वारा सरकारको ध्यानाकर्षण

गुल्मी । नेपाली काँग्रेस गुल्मीले सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाउँदै कोरोना भाइरस (कोभिड–१९) को महामारी, त्यसबाट उत्पन्न परिस्थिति, तत्कालिन एवं दीर्घकालिन प्रभाव र नेपाल सरकारको भूमिका र तत्काल गर्नुपर्ने कार्य लगायतका बिषयमा ध्यानाकर्षण गराएको हो ।

ज्ञापनत्र हस्तान्तरण गर्दै नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले क्वारेन्टाइनको अवस्था अत्यन्तै दयनिय रहेको बताए । उनले क्वारेन्टाइनहरु सजाय गृहको रुपमा, बन्दी गृहको रुपमा रहेको उल्लेख गरे । अनावश्यक रुपमा राज्यले फजुल खर्च बढाएर राज्यमाथि अनावश्यक रुपमा आर्थिक भार बढाइरहेको बताए ।
सभापति श्रेष्ठले क्वारेन्टाइनमा रहेका नागरिकले उपचार नपाउने अवस्था रहेको उल्लेख गर्दै कोभिड–१९ को नियन्त्रणका लागि पीसीआर परिक्षणको विकल्प नरहेको बताए ।
कांग्रेसले यसप्रति बारम्बार आवाज उठाउँदै आए पनि सरकारले सुनुवाई नगरेको उल्लेख गरे । सभापति श्रेष्ठले यसप्रति कांग्रेसको गम्भिर ध्यानआकृष्ट भएको भन्दै यो अवधिमा कैयौँ क्वारेन्टाइनमा रहेका नागरिकहरुले देह त्याग गर्न बाँध्य समेत बनिरहेका उल्लेख गरे ।
सचिव खिलध्वज पन्थीले सरकारले आफुहरुको मागप्रति गम्भिर भएर ध्यान पुर्याउन आग्रह गरे । सचिव पन्थीले सरकारलाई यो बेलामा मानविय संवेदनशिलतालाई बुझेर काम गर्न, आरडिटी परिक्षण बन्द गरि पिसिआर परिक्षणको दायरा व्यापक बनाउन जोड्दार माग गरे ।
ज्ञापनपत्रमा मदानेका ४१ वर्षिय कोरोना भाइरस संक्रणबाट मृत्यु भएका शिक्षकको उपचारमा चरम लापरबाही भएको, प्रदेश सरकारका जिम्मेवार व्यक्तिले नजिकै हुँदा पनि चासो नदेखाएकोप्रती गम्भीर ध्यानआकर्षण भएको उल्लेख छ । विगत केहि दिन पहिले मुसिकोट नगरपालिकामा जिम्मेवार जनप्रतिनिधिहरुले क्वारेन्टाइनमा बसेका नागरिकहरु प्रति देखाएको व्यबहार खेदजनक रहेको बताइएको छ ।
क्वारेन्टाइनको राम्रो व्यवस्था नहुनु, स्थानीय सरकारले उपचारको उचित प्रबन्ध मिलाउन नसक्नु, समयमै स्वास्थ्य जाँच गर्न नसक्नु र मानसिक रुपमा तनाव सृजना भई नागरिकलाई क्वारेन्टाइनमा आत्महत्या गर्न बाध्य बनाउनु वर्तमान् सरकारको गैरजिम्मेवारपन रहेकोे उल्लेख गरिएको छ ।
सरकारको नीति विपरित बिलासिताका बस्तु खरिद गर्दै अनुत्पादक क्षेत्रमा खर्चको भार बढाउनु राष्ट्रिय लज्जाको विषय रहेको ज्ञापनपत्रमा उल्लेख छ । पश्चिम रुकुममा घटेको जातिय विभेदको सामुहिक नरसंहारले मुलुककै राष्ट्रिय अस्मीतामा कालो धब्बा लागेको काग्रेसले जनाएको छ । त्यसे घटना र कैलालीको क्वारेन्टाइनमा रहेका महिलाहरु माथि सामुहिक बलात्कारका घटनाका दोषी माथी कानुनी कारबाहीको जोड्दार माग गरिएको छ ।
नेपाली कांग्रेसको आब्हानमा नेपाली कांग्रेसका नेता, पार्टी सदस्य, भातृ एवं शुभेच्छुक जिल्ला भरिनै आ–आफ्ना ठाँउबाट कोभिड १९ विरुद्धको लडाईमा क्रियाशिलतापूर्वक काम गरिरहेको उल्लेख गर्दै यो कार्य निरन्तर जारी रहने बताईएको छ ।
नेपाली कांग्रेस लगायतको सहयोग र अनुकूलताको वावजुद पनि सरकारको अकर्मण्यता, असक्षमता, असंवेदनशीलताको कारण कोरोना संक्रमण विरुद्धको लडाईमा अनपेक्षित क्षति वेहोर्न परेको बताइएको छ ।
जिल्लाभरिनै क्वारेन्टाईन साह्रै अव्यवस्थित छन । क्वारेन्टीनको उचित व्यवस्थाापन नभएका कारण क्वारेन्टाईनबाट नै संक्रमण फैलिरहेको र आइसेलेशनमा नै मानिसहरुको मृत्यु भएको छ । मृत्यु भएर दाह संस्कार गरको कैयो दिन पछि कोरोना रिर्पोट पोजेटिभ आउनु, स्वाब परिक्षणमा ढिलाई हुनु जनताको स्वास्थ प्रतिको असंवेदनशीलता प्रकाष्ठ रहेको बताईएको छ ।


सरकारले लक डाउनलाई ठिक ढगंले उपयोग नगरेको । यस बीचमा सरकारले अस्पतालको क्षमता, गुणस्तर वृद्धि गर्ने तर्फ ध्यान नदिएकाले संक्रमितहरुलाई अस्पतालमा राखेर उपचार गर्न नसक्ने अवस्था सिर्जना हुँदै गएको उल्लेख छ ।
काग्रेसले विदेशवाट नागरिकको उद्धार गर्न, देशमा व्यापक रोजगारीको सिर्जना गर्न, कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पु¥याउन, साना, ठूलो उद्योग, व्यापार, व्यवसायको संरक्षण र तमाम श्रमिक मजदूर उद्यमीहरुको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस राहत प्याकेज घोषणा गर्न सभापति श्रेष्ठद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र हस्तान्तरण गर्नु अघि जिल्ला प्रशासन कार्यालय अगाडि विभिन्न नारा लगाउँदै देशमा पछिल्लो समय भइरहेको जातीय विभेद अन्त्य गर्न, क्वारेन्टाइन व्यवस्थित बनाउन, आरडीटी जाँच बन्द गर्न तथा पीसीआर टेष्ट बढाउन माग गरेका थिए ।