बजेट खर्च गर्न नसक्ने मन्त्रीले राजीनामा दिनुपर्ने माग

काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले बजेट खर्च गर्न नसक्ने मन्त्रीहरुले राजीनामा दिनुपर्ने माग गरेका छन् ।
विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफलमा भाग लिँदै बिडारीले असारमा बजेट पारित भइसके पनि साउनबाट फटाफाट काम नगर्ने मन्त्रीहरुले राजीनामा दिनुपर्ने बताएका छन् ।
सांसद बिडारीले भने ‘यो सरकारले यही पटकबाट समयमै काम गरोस्। यति पनि गर्न सकेन भने मन्त्रीहरुले सामूहिक राजनीनामा दिए हुन्छ।’
राष्ट्रियसभाबाट जति सुझाव दिए पनि बजेटमा कुनै परिवर्तन नहुने गरेको गुनासो गर्दै सांसद विडारीले बजेट संशोधन गर्दैमा सरकार तलमाथि नहुने टिप्पणी गरेका छन्। बेलायत र अमेरिका लगायतका देशमा पनि बजेट संशोधन हुने गरेको उदाहरण प्रस्तुत गर्दै सांसद विडारीले सबैतिरबाट आएका सुझावहरुलाई आत्मसात गरी बजेट संशोधन गर्नुपर्ने बताएका छन् ।
अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभामा दैनिक खर्च धान्न गाह्रो भएको भन्दै दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै सांसद विडारीले खर्च नै धान्न नसक्ने अवस्थामा कसरी पुग्यो र के कारण भएको हो भन्ने प्रश्न गरे । उनले त्यसको कारण पत्ता लगाएर समाधान गर्न सुझाव पनि दिए।