विदेशी महिलालाई नेपालीसँग विवाह गरेको ७ वर्षपछि मात्रै नागरिकता दिन प्रस्ताव

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई सात वर्षपछि मात्रै नागरिकता दिने प्रस्ताव राखेकी छन्।
मंगलबारको बैठकमा सभापतिका तर्फबाट प्रस्तुत प्रस्तावमा भनिएको छ‚ ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नेपाली नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्ष स्थायी बसोबास कायम गरेको रहेछ भने निजले नेपालको नागरिकता प्राप्त गर्न सक्नेछन्।’
लामो समयदेखि विवादकै कारण नटुंगिएको यो विधेयकलाई टुंगो लगाउने प्रयासमा सभापति श्रेष्ठ छिन्।
नेपालीसँग विवाह गरेर आउने महिलालाई नागरिकता दिने समयावधि निर्धारण गर्न नसक्दा विधेयक अघि बढ्न सकेको छैन। विवादका अन्य विषय भने लगभग टुंगिसकेका छन्।
नेकपाका सांसदहरूले मंगलबार नै विधेयक टुंग्याउने प्रयास गरिरहेका छन् भने कांग्रेसले भने हतार गर्न नहुने बताइरहेको छ।