थप ५ सय ८६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७१ सय ७७ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८६ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ५ सय ८६ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
थपिएका संक्रमितमध्ये ४० महिला र ५४६ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ ७७ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार बुधबार थपिएकाहरुमा धरानमा गरिएको परीक्षणमा ५ जना, विराटनगरमा ११ जना, जनकपुरमा २७ जना, वीरगन्जमा ६ जना, राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ६५ जना छन् ।
यस्तै भरतपुर अस्पतालमा ३, धुलिखेल अस्पतालमा ९९, शिक्षण अस्पतालमा १, पोखरामा २० जना, रुपन्देहीमा ५९ जना, भेरी अस्पतालमा ३२ जना, दाङमा ३३ जना र सुर्खेत ४ जना जुम्लामा १४ जना, कैलालीमा भएको परीक्षण्मा ७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।
अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ। बुधबारसम्म १ हजार १ सय ६७ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।
हालसम्म पीसीआर विधिबाट १ लाख ४९ हजार ७ सय ७२ र पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको कोरोना परीक्षण भएको छ। यस्तै आरडीटी विधिबाट २ लाख ३३ हजार ५ सय ४३ र पछिल्लो २४ घण्टामा १० हजार २४ परीक्षण भएको छ। अहिले देशभरीका क्वारेन्टाइनमा १ लाख २५ हजार ७ सय ९८ जना रहेका छन्। ५ हजार ९ सय ९० जना विभिन्न अस्पतालका आइसोलेनमा उपचाररत रहेका छन्।