विदेशी विनिमय सञ्चिती उच्च

काठमाण्डौं । वर्तमान परिस्थितिले अर्थतन्त्रलाई पूर्णरुपमा शिथिल बनाईरहेको अवस्थामा नेपालको वैशाख मसान्त सम्मको विदेशी विनिमय सञ्चित उच्च रहनुले केही आशाका किरणहरु पलाएका छन् । समय समयमा अर्थमन्त्रीले दिएको अभिव्यक्तिले ल्याएको निराशालाई मलम पट्टी लगाउन सहयोग गरेको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६/७७ को १० महिनामा विदेशी विनिमय सञ्चिती १२ खर्ब रुपैयाँ भन्दा बढि भएको र २०७६ साउनदेखि वैशाख मसान्त सम्मको १० महिनाको अवधिमा विदेशी विनिमय सञ्चित बढेर १२ खर्ब ३५ अर्ब २५ करोड रुपैयाँ पुगेको जनाएको छ । यो सञ्चिति गत साउनमा विदेशी विनिमय सञ्चिती १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकले १० महिनाको तथ्यांकमा आधारित मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे विश्लेषण गर्दै विदेशी विनिमय सञ्चितीले १२.२ महिनाको वस्तु आयात र १०. ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने बताएको छ ।
आर्थिक वर्ष २०७६÷७७ को दश महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती १२.२ महिनाको वस्तु आयात र १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ’ राष्ट्र बैंकद्वारा जारी प्रतिवेदनमा भनिएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिती २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ वैशाख मसान्तमा १० अर्ब २५ करोड पुगेको राष्ट्र बैंकले बताएको छ । प्रतिवेदनमा उल्लेख भए अनुसार कुल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रहेकोमा २०७७ वैशाख मसान्तमा १० खर्ब ७५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकबाहेक बैंक तथ वित्तीय संस्थासँग रहको विदेशी विनिमय सञ्चिती २०७६ असार मसान्तसम्म १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७७ वैशाख मसान्तसम्ममा १ खर्ब ६० अर्ब ७ करोड पुगेको छ । यसमा २४ प्रतिशत भारतीय मुद्राको अंश रहेको छ ।