खर्चको हिसाव तलमाथि हुँदैन, अहिले कोरोना नियन्त्रणमै ध्यान दिनुपर्छ : प्रम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि भएको खर्चको हिसाब तलमाथि नहुने वताउँदै भ्रष्टाचार भएको पाइएमा कारवाही हुने बताएका छन् । तर अहिले हिसाव माग्दै सडकमा प्रदर्शन गर्ने समय नभएको वताउँदै प्रम ओलीले हिसावकिताव गर्ने निकायहरु छुट्टै भएकाले त्यसले आफ्नो काम गर्ने बताएका छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘१० अर्ब‚ १० अर्ब भन्ने हल्ला चल्यो, उक्त रकम केही निकायमा पठाइयो। त्यसको मसिनो गरी हिसाब आलेप, मलेप हुन्छन्। ती कुराका प्रतिवेदन संसदमा आउँछन्।’
रुजु, बेरुजु अनियमितता यी सबै कुरा आउने भन्दै उनले अनियमितता हुन नदिने प्रतिबद्धता दोहोर्याएका छन् ।
प्रधानमन्त्री ओलीले अहिले काममा ध्यान दिनुपर्ने र कोरोना नियन्त्रणमा खटिएका जनप्रतिनिधि, स्वयंसेवक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सवैप्रति प्रशंसा गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले कोरोना रोकथाममा मात्र होइन, सवैतिर खर्चको विवरण संसदमा प्रस्तुत गर्ने जवाफ दिएका छन्।
प्रधानमन्त्री ओलीले भने “अहिले यो रकमको मात्रै होइन १४ खर्बभन्दा बढीको बजेट प्रस्तुत गरिएको छ। त्यसको महालेखा परीक्षकको वर्षिक प्रतिवेदन मार्फत सदनमा आउँछ‚ त्यसमा अनियमितता गरियो भने विभिन्न निकाय छन् अनुगमन गर्ने। यस्तो ठान्न भएन कि म बाहेक सबै भ्रष्ट छन्। यस्तो ठान्न भएन कि यस देशमा भ्रष्टबाहेक कोही जन्मिँदै जन्मिन्न।”