जसपामा असन्तुष्टि, राजपा व्यूताउने गृहकार्य
काठमाडौं । तत्कालिन राजपाका नेता अनिल झा र राजकिशोर यादवलगायत नेताहरुले पार्टी एकीकरणप्रति असन्तुष्टि जनाएपछि जनता समाजवादी पार्टीमा विवाद उत्पन्न भएको छ । उनीहरुले महाधिवेशन पछि मात्रै एकीकरण गर्न उचित हुने तर्क गर्दैै आएका थिए । पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर नगरेका नेताहरु झा र यादवले एकतापछिको भागवण्डा पनि गलत भएको बताएका छन् ।
झण्डै १८ महिनादेखि एकीकरण प्रक्रिया चले पनि त्यसलाई सही ढंगले व्यवस्थापन गर्न नसकिएको धेरै नेताहरुले स्वीकार गरेका छन् । २०७५ मंसिर ४ गतेबाट ६ जना नेताबीच दुईदुई महिना नेतृत्व गर्ने चक्रिय प्रणाली चलेको राजपामा त्यसपछि पार्टी संयन्त्रका सवै स्थानमा भागवण्डा गरेका थिए ।
एकता पछि पार्टी बढेको असन्तुष्टिका कारण राजकिशोर र अनिल झालगायतले राजपालाई नै व्यूताउने मनस्थिति बनाएर गृहकार्य गर्न थालेको छन् ।
त्यस्तै विगतका नयाँ शक्ति पनि एकताप्रति सन्तुष्ट देखिदैन । तत्कालीन राजपाका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई केन्द्रीय कार्यसमितिको अध्यक्ष बनाएरु निर्वाचन आयोगमा पार्टी दर्ता गरिएपछि असन्तुष्टि बढेको हो ।
पहिलो वरीयतामा ठाकुर, दुईमा डा. बाबुराम भट्टराई, तीनमा यादव, चारमा अशोक राई र पाँचमा महतोलाई राख्ने सहमति थियो । तर, निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिनुअघि संघीय परिषद्को अध्यक्षबाट डा.भट्टराईको नाम काटेर चौथो वरीयतामा राख्दै वरिष्ठ नेतामात्र दिइपछि भट्टराई पक्ष असन्तुष्ट बनेको छ ।
तत्कालिन राजपा नेपालका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले एकीकरणमा मनपरी गरेको भन्दै नेताहरुमा असन्तुष्टि बढेको छ ।
५१ सदस्यीय कार्यसमितिमा नाम राखिएका नाममै नेताहरुो असन्तुष्टि रहेको छ । तत्कालिन राजपा नेपालका नेता राजकिशोर यादव र अनिलकुमार झा निर्वाचन आयोग नै पुगेका थिएनन् भने शरतसिंह भण्डारी, महेन्द्रराय यादव पनि ठाकुर र महतोको कृयाकलापबाट असन्तुष्ट छन् ।
तत्कालिन राजपा नेपाल छवटा पार्टी मिलेर बनेकाले अध्यक्ष मण्डलमा रहेका सवैको बराबरको अधिकार रहे पनि एकता गर्दा ठाकुर र महतोले जसपाको केन्द्रीय समितिमा अधिकाँश आफ्नै मान्छे राखेको र जातीय कलस्ट पनि नमिलेको नेताहरुले बताएका छन् । ठाकुरले आफ्नोतर्फबाट नौजना र महतोले आठजना राखेका छन् भने शरतसिंह भण्डारी र महेन्द्र राय यादवको दुई दुईजना राखिएको छ । अनिलकुमार झा र राजकिशोर यादवको एकजना पनि परेको छैनन् ।
निर्वाचन आयोगका अनुसार ३३ प्रतिशत महिला अनिवार्य हुन्छ तर ५१ जनामा सात जना महिला मात्र राखेको छ ।
मधेश आन्दोलनदेखि पार्टीमा समेत कुनै योगदान नहुँदा पनि ठाकुरले आफ्ना सम्धी र सम्धनीलाई पटक पटक अवसर दिएको नेताहरुले गुनासो छ । ठाकुरले आफ्ना धम्धीलाई मन्त्री बनाउनेदेखि प्रदेश प्रमुख समेत बनाएका थिए । अहिले ५१ सदस्यी कार्यसमितिमा उनको नाम राखेर मधेशमा सहादत दिएकाहरुको मानमर्दन भएको नेताहरुले गुनासो गरेका छन् ।
तत्कालीन राजपाका केन्द्रीय सदस्य सुरेन्द्रकुमार झाले अन्तिम दिनको अन्तिम समयमा पार्टी दर्ता हुनुपछाडि नेतृत्वमा रहेको आत्मकेन्द्रित सोच एवं पद लोलुप्ता रहेको टिप्पणी गरेका थिए ।
‘पार्टी नेताहरुले ५२ जनाको कार्यसमिति बनाइ निर्वाचन आयोगमा बुझाइएको सूचीलाई नै मधेश आन्दोलन, लोकतान्त्रिक आन्दोलन तथा जनयुद्धको आधिकारिक उत्तराधिकारीको रुपमा व्याख्या गर्ने भूल नगरुन् । किनभने दुबै पार्टीका करिब दुई दर्जन ख्यातिप्राप्त राष्ट्रियस्तरका नेताहरु तथा एक हजार केन्द्रीय सदस्य यसमा समाविष्ट छैनन्,’ झाले लेखेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् असन्तुष्टि व्यक्त गर्दै झाले लेखेका छन्, ‘राजपा पार्टीभित्र पुराना पार्टीका कोटा पद्धतीबाट छनौटमा परेकाहरु छन् । मण्डले, झोले, खबरीलाल, नातेदार, मालदार, भ्रष्टाचारी एवं कमिसनखोरहरु उल्लेख्य संख्यामा छन् ।’
तत्कालीन राजपाका सहमहासचिव रामप्रवेश बैठाले पनि पार्टी एकीकरण र पद समायोजनप्रति असन्तुष्टि पोखेका छन् । एकीकृत पार्टीमा दलित समुदायलाई ठाउँ नदिइएको भन्दै बैठाले असन्तुष्टि पोखेका हुन् ।
पार्टी नेताहरुले समानुपातिकको कुरा गर्नु ओठे आवाजबाहेक अरु केही नरहेको उनको भनाइ छ । अझै पनि दलित समुदायका नेता कार्यकर्ता पार्टीभित्र बस्नु भनेको अपमान सहेर बस्नुको विकल्प नरहेको बैठाले बताएका छन् ।