नेपालमा थपिए ५ सय ३८ कोरोना संक्रमित/ संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्युठानमा ५० जना कोरोना संक्रमित थपिएका छन् भने पाल्पाका ४८ जना, धनुषाका ३९, कैलालीका ३८, गोरखाका २९, सुर्खेतका २३, स्याङ्जा, नवलपुर, बझाङ र दैलेखका २२/२२ जना, पर्वतका २१, बाजुराका २०, दाङका १९, सप्तरी र धादिङका १८/१८ जना थपिएका छन् ।
त्यस्तै कञ्चनपुरका १७, बाग्लुङका १४, रौतहटका १३, महोत्तरी र झापा १२÷१२ जना छन् भने कास्की र तनहुँका ८/८ जना, सिराहा र अछामका ७÷७ जना, सुनसरीका ६, लमजुङका ५, गुल्मीका ५, सल्यान र डडेलधुराका ४/४ जना, मोरङ, तेह्रथुम, अर्घाखाँची, सर्लाही र रुपन्देहीका २/२ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
त्यस्तै रुपन्देही, कालीकोट, हुम्ला र पर्वतका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालका कुल कोरोना संक्रमित १० हजार ९९ जना मध्ये २४ जनाको मृत्यु भएको छ भने २ हजार २ सय २४ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ताले आज दिएको जानकारी अनुसार कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई ४ असारमा अस्पतालमा भर्ना गरिएको थियो ।
मृतकले लामो समयदेखि क्षयरोगको उपचार गराइरहेका उनको अवस्था गम्भीर भएकाले आईसीयूमा राखेर उपचार गरिएको र मंगलबार मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिएको मन्त्रालयका प्रवक्ताले बताएका छन् ।