कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुग्यो
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको आज विहान मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनको पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो ।
यता गएराति कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको स्थानीय प्रशासनले पोखरा लेखनाथको तल्लो गगनगौंडा क्षेत्रमा पर्ने लामतरास्थित सेती नदी किनारमा शव व्यवस्थापन गर्न खोज्दा स्थानीयले अवरोध गरेपछि हवाइफायर भएको थियो ।
कास्की प्रहरी प्रवक्ता डिएसपी सुभाष हमालले शव व्यवस्थापनको क्रममा ८ राउण्ड हवाई फायर र ८ जना प्रक्राउ परेको जानकारी दिए ।
शव गाड्न नदिने भन्दै पोखरा महानगरपालिका वडा नं। ३२ का स्थानीयले आज विहानैदेखि टायर नै बालेर विरोध प्रदर्शन थालेका थिए । प्रशासनले स्थानीय विरोधबाट पछि नहट्ने संकेत दिएपछि प्रहरी फोर्स लगाएर शव व्यवस्थापन गरेको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।