राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको विरोध प्रदर्शन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महिला संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन (राप्रमसं)’ ले बुधबार राजधानीमा विरोध प्रदर्शन गरेको छ ।
महिला हिंसा, एमसीसी, कोरोना र भ्रष्टाचारको विरुद्धमा विरोध प्रदर्शन गरिएको राप्रमसंका नेतृहरु मीना सुवेदीले बताएकी छिन् ।
एमसीसी चाहिदैन, भ्रष्टाचारीलाई कारवाही गर, महिला हिंसाको अन्त्य गर, महिलामैत्री क्वारेन्टिन व्यवस्था गर र बलात्कारीलाई सजाय गर, हिन्दु रास्ट्र कायम गर, संबैधानिक राजसंस्था कायम गर, देश टुक्राइने संघीयता खारेज गर, पीसीआर परीक्षणको दायरा बढाउ, गरिब जनतालाई राहतको व्यवस्था गर जस्ता प्लेकार्ड बोकेर बुधबार माइतीघरदेखि बानेश्वरसम्म र्याली निकालेका थिए ।
र्याली पछि आयोजित कोणसभालाई पूर्व राज्यमन्त्री एवं राप्रमसंकी अध्यक्ष कुन्ति कुमारी शाही, नेतृहरु मीना सुवेदी, विजयकला राई, ३ नं। प्रदेशसभा सदस्य रिता माझी, कुमारी स्याङ्तान लगायतले सम्बोधन गरेका थिए ।
नेतृ शाहीले कोरोना रोकथाम तथा नियन्त्रणमा ध्यान नदिएर सरकार भ्रष्टाचारमा मात्र केन्द्रित भएको आरोप लगाइनु । उनले मन्त्रीक्वार्टरमा जिमखाना र राष्ट्रपति कार्यालयमा गलैंचा विच्छ्याउनुको सट्टा क्वारेन्टाइनलाई व्यवस्थित गर्नेतर्फ सरकारले ध्यान दिनु पर्ने बताइन् ।
राप्रमंसको कोणसभालाई सम्बोधन गर्दै महिला नेतृ मीना सुवेदी, विजयकला राईलगायतले लोकतन्त्रको नाममा राष्ट्रघाती काम हुन लागेको भन्दै सरकारको खरो आलोचना गरेका छन् । कोरोना महामारी विरूद्ध सरकारी व्यवस्थापन कमजोर रहेको टिप्पणी गर्दै उनीहरुल्े क्वारेन्टिनमा महिला बलात्कृत हुँदा सरकार टुलुटुल हेरेर बसेको भन्दै आक्रोश व्यक्त गरे ।