प्रधानमन्त्री ओलीलाई कसले खोज्दैछ हटाउन ?
काठमाडौं । केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन होटलहरुमा विभिन्न षडयन्त्रका नातावुना बुनिएको बताएका छन् । नेपालको अतिक्रमित भूमि सहित समेटेर नक्सा सँच्याए वापत् आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपाल भित्रैका शक्तिहरु लागिपरेको उनले बताएका छन्।
मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनद्वारा वालुवाटारमा आइतबार आयोजित कार्यक्रममा‘ प्रधानमन्त्री ओलीले भने ‘दिल्लीका सञ्चारमाध्यम सुन्नुस्, त्यसैले देखाउँछ, यहाँका होटेलमा भइरहेका गतिबिधि हेर्नुस्, एम्बेसीको सक्रियता हेर्नुस्, त्यसले बताएको छ ।’ उनले थपे ‘नेपालको राष्ट्रियता यति कमजोर छैन नक्सा छापे वापत, यस देशको प्रधानमन्त्री हटाउँछु भनेको छ भने, यो नसोचे हुन्छ।’
प्रधानमन्त्री ओलीले भने ‘ हप्ता १५ दिनमा केपी ओलीको सरकार ढल्दैछ भन्दै प्रचार हुने गरेको छ । १ सय ४६ बर्षदेखि उपभोग गरेको नेपालको जमिन ५८ बर्षदेखि खोसिएको छ त्यो फिर्ता ल्याएरै छोडछौ भनेर गुमेको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि बाहिर बहस चल्या छ , पहिला केपी ओलीलाई नहटाइ हुँदैन, भारतका मिडिया सुन्नु भएको होला । कस्तो सक्रिय छ !’
आफूलाई प्रधानमन्त्रीमा बसिरहन मन नभएको बताउँदै ओलीले भने ‘यतिबेला म हट्ने हो भने नेपालको पक्षमा कसैले बोल्ने आँट गर्ने छैन किनभने भोलिपल्ट बर्खास्त हुन्छ, ‘त्यसैले म आफ्ना लागि होइन, देशका लागि हो। हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्ता वहकाऊमा फस्ने छैन। कोशिस् गर्नेलाई गर्न दिउँ।’
भारतले नबनाऊ भन्दाभन्दै संविधान बनाएको र त्यसकै कारण नाकाबन्दीको सामना गरेको सन्दर्भ उल्लेख गर्दै नेपाल भारतवेष्ठित र खुम्चिएर रहेको परिस्थितिलाई परिवर्तन गर्न खोजेको समेत बताए।
‘हिमाल क्रस गर्न सक्छौं, दुईमध्ये दुवै छिमेकीसँग यातयात र पारवहनमा भुपरिवेष्ठित भएर बस्नु पर्दैन, यातायात र पारवहनमा एक देशबाट मात्रै छेकिएर बस्नु पर्दैन भनेर हामीले मौका पाउने बित्तिकै चीनसँग यातायात तथा पारवहन सन्धि गर्यौं,’ प्रधानमन्त्रीले भने।
प्रधानमन्त्री ओलीले पहिलो कार्यकालमा चीनसँग यातायात तथा पारवहन सन्धि गरेर फर्केपछि सरकार ढलेको स्मरण पनि गरे । उनले भने ‘त्यसबेला आफ्नो पार्टीसँग वहुमत नभएको त्यो षडन्त्र सफल भयो । अहिले हाम्रो पार्टीसँग वहुमत छ ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले मदन भण्डारीले नेपालको राजनीतिमा पुरयाउनु भएको योगदानको चर्चा गर्दै भने ‘ईमानसहितको उहाँका विचारलाई हामीले अनुसरण गर्न सक्यौ भने हामीलाई फाइदा हुन्छ ।’