रेसुङ्गा नगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सञ्चालन गर्दै

गुल्मी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखीमतालाई ध्यानमा राखी बिद्यालयहरु सञ्चालन हुन सकेका छैनन् । यस अवस्थामा गुल्मीको रेसुङ्गा नगरपालिकाले आइतबार देखि रेडियो शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कोभिड–१९को संक्रमणको कारणले बालबालिकाको सिकाइमा पर्न जाने क्षतिलाई न्यूनिकरण गर्न तथा विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठनको सहज अवस्था सिर्जना नहुन्जेल रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको हो ।

रेसुङ्गा नगरपालिकामा रहेका कक्षा ४ देखि १० सम्मका आठ हजार विद्यार्थीहरुलाई केन्द्रित गरी रेडियो शिक्षा शुभारम्भ गर्न लागिएको रेसुङ्गा नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए ।

दूर तथा खुला शिक्षा लगायत वैकल्पिक शिक्षा प्रणालीको माध्यम बाट सिकाइमा सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको “सिकाइ सहजीकरण निर्देशिका २०७७’’ स्वीकृत भएको छ । सोही निर्देशिका अनुसार रेडियो शिक्षा सञ्चालन गरिने ज्ञवालीले जानकारी दिए ।

यो अभियानलाई प्रभावकारी र उदेश्यमूलक ढङ्गले सञ्चालन गर्न रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालको संयोजकत्वमा सम्पूर्ण वडा अध्यक्षहरु सहितको निर्देशक समिती गठन गरिएको छ ।

रेसुङ्गा नगरपालिका सामाजिक विकास समितीका संयोजक थम्मन बहादुर केसीको संयोजकत्वमा सामाजिक विकास समितीका सदस्यहरु सहितको अनुगमन तथा परामर्श सेवा प्रवाह समिती गठन भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत भक्तीराम मरासिनीको संयोजकत्वमा शिक्षा अधिकृत विष्णु प्रसाद ज्ञवाली शिक्षा शाखामा कार्यरत कमला घिमिरे र राममणी पन्थी सहितको वैकल्पिक प्रणाली बाट विद्यार्थीको सिकाइ सहजीकरण कार्यक्रम कार्यान्वयन समिती समेत गठन गरिएको छ।

पहिलो चरणको कार्यक्रम अन्र्तगत २० दिन सदरमुकाम तम्घासमा रहेका ३ वटा एफ.एम रेडियो मार्फत रेडियो शिक्षा कार्यक्रम प्रशारण गरिने भएको छ । रेडियोबाट ६ वटा बिषयलाई सम्बन्धीत बिषय शिक्षकहरुले सहजीकरण गर्नेछन् । यसका लागि नगरपालिकाले सामुदायिक र संस्थागत बिद्यालयका ३÷३ जना सम्बन्धित बिषय शिक्षक छनौट गरेको छ ।

नेपाली र अग्रेंजी दुवै माध्यमका बिद्यार्थीहरुलाई मध्यनजर गरी नेपाली र अग्रेंजी दुवै भाषा प्रयोग हुने रेसुङ्गा नगरपालिका शिक्षा शाखा लेखाजोखा समितिका संयोजक लालमणि पन्थीले जानकारी दिए ।

उनले अभिभावक तथा बिद्यार्थीहरुलाई नियमित रुपमा रेडियो सुन्न र सिकाईलाई प्रभावकारी बनाउन सकरात्मक सुझाव दिन आग्रह गरे । ‘कोभिड–१९का कारण बिद्यालय तत्कालनै खुल्ने अवस्था छैन् । कतिपय बिद्यालय क्वारेन्टाइन बनाईएको छ ।’ उनले ‘घरमै बसेर रमाईरमाई पठनपाठन गर्न पाउन भन्ने उद्देश्यले रेडियो शिक्षा कार्यक्रम शुभारम्भ गर्न लागेको बताए ।

उनले टोल शिक्षा कार्यक्रमलाई बन्द गरी रेडियो शिक्षा कार्यक्रममा सहभागी बन्न पनि आग्रह गरे । रेडियो शिक्षा कार्यक्रम अन्र्तगत रेडियो रेसुङ्गाबाट कक्षा ९–१० को बिहान १०ः१५ देखि ४ ः ५५ सम्म विभिन्न बिषयको सहजीकरण हुनेछन् ।