कृषिलाई पेशाको रुपमा अवलम्बन गरौं

काठमाण्डौ । असार १५ नेपालमा यसलाई धान दिवशको रुपमा मनाउने प्रचलन छ । नेपालमा यसै धान दिवस र दही चिउरा खाने कार्यक्रम एकै दिन मनाउने परम्परा अनुसार हिजो धुमधामसँग मनाइएको छ । नेपाल कृषि प्रधान मुलुक हो यहाँ लगभग ७४ प्रतिशत मानिस कृषि पेशामा आवद्ध छन् । नेपालको कुल ग्राहस्थ्य उत्पादनमा यसको ठूलो हिस्सा छ जुन स्थायी हिस्साको रुपमा बढ्न सक्ने देखिन्छ । आउदा दिनमा यसलाई पेशाकै रुपमा विकास गरि देशको अर्थतन्त्रमा कृषि क्षेत्रको अंशलाई बढोत्तरी ल्याउन सकिने अवस्था छ ।
सरकारको हरेक वर्षको बजेटमा कृषि कै गुनगान बढि सुनिन्छ । तर यसको वास्तविकता र आवश्यक्ता पहिचान हुन नसक्नुले यो शब्द संसदमा फलाक्ने उर्जा मात्र बनेको छ । लगभग १८ प्रतिशत खेतियोग्य जमिन त्यो पनि सिंचाइको अभाव, वास्तविक किसानसँग अति सानो जमिनको अंश,सम्म खेतियोग्य जमिन घर घडेरीमा परिणत हुनुले कृषि उत्पादनलाई क्षति पुग्दै गईरहेको छ ।
कृषि प्रधान मुलुकको अस्मिता बचाउन आज भोली जुन खेति प्रतिको हवला दिएको पाइन्छ । यो वास्तविक किसान भन्दा वाहिर रहेको छ । जुन धान दिवसको परिदृष्यलाई हेर्दा कृषिको लगाव त फेसनमा परिणत भैरहेको त हैन सोच्न वाध्य वनाएको छ । आजको विभिन्न ठाउँको धान रोपाईको दृष्य हेर्दा रमाईलो मात्र होईन विकृति भित्रिएको जस्तो देखाउछ । जहाँ वास्तविक किसान भन्दापनि रमाईलाको लागि जमघट भएका सुटेड वुटेडको वाक्लो उपस्थिति देखिन्छ । यसले उत्पादनको लागि गरिने भन्दापनि रमाइलाको लागि गरिएको रोपाई जस्तो देखाइरहेको छ ।
अझ धानकै विउको माला लगाएर उच्च पदस्थ मानिसहरुको उपस्थिति देखाउनुले कृषिको वास्तविकतालाई धमिल्याएको देखिन्छ । यस अवस्थाले कृषि प्रधान मुलुकको खिल्लि त उडाइरहेको छैन तेता पनि ध्यान दिने की ।