थप ४सय ७३ जनामा कोरोना सं‌क्रमण, काठमाडौँ उपत्यकामा थप ३२ जना कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या १४ हजार ५ सय १९ पुगेको छ । हालसम्म कोरोना संक्रमण निको भएर ५ हजार ३ सय २० जना घर फर्किएका छन् भने मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४९ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको हो।
मन्त्रालयका अनुसार घाँटीमा समस्या देखिएपछि अस्पताल असार ९ गते भर्ना भएका शिशुको शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।
म्याग्दीका ती शिशुको कोरोनाकै कारण मृत्यु भएपछि उनको सम्पर्कमा रहेका आफन्तको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उपत्यकामा थप ३२ जना कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रायका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा २८, भक्तपुरमा दुई र ललितपुरमा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १७ महिला र ११ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै भक्तपुरका दुई पुरुष र ललितपुरका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमामा गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।