गुल्मीमा पहिरोमा परी दुई जनाको मृत्यु

गुल्मी । गुल्मीमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षाले घरगोठ बगाउँदा इस्मा गाउँपालिका–१ का दुई जनाको मृत्यु भएको हो । १८ महिनाका सुरज शारु र वर्ष ७ की अपेक्षा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक (डिएसपी) केदाराज पन्तले जानकारी दिए ।
पहिरोमा परी वर्ष २७ की इश्वरी खत्री, वर्ष ६४ का टिका खत्री, वर्ष २१ को सिर्जना शारु गम्भीर घाइते भएको डिएसपी पन्तले जानकारी दिए । उनका अनुसार वसन्त सारु र आयुष खत्री सामान्य घाइते छन् । विस्तृत विवरण आउन बाँकी छ ।
मुसिकोट नगरपालिका–२ हाडि खोला घुम्तिमा पहिरो जाँदा एक जना बेपत्ता भएका छन् । वर्ष ५५ का भागीरथ घिमिरे सम्पर्क विहिन भएका डिएसपी पन्तले जानकारी दिए ।
अविरल वर्षाले मुसिकोट नगरपालिका–रातचौर बस्ने जनक केसीको घर भत्कीएको छ । विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । वर्षाले चुमानसिंह खत्रीको घर पनि भत्कीएको छ । उनको ६ जनाको परिवारलाई सुरक्षित स्थानमा छिमेकीको घरमा सारीएको पन्तले जानकारी दिए ।
मुसिकोट नगरपालिका–२ खस्थोक अमराई बस्ने राम बहादुर सुनारको ३ वटा भैसी ७ वटा बाख्रा पहिरोले गोठ सहित पुरेको छ । टेक बहादुर कार्किको ३ वटा भैसी र गोठ सहित पहिरोले पुरेको छ । अर्जुन बहादुर सिंहको १ भैसी ४ बाख्रा पहिरोले पुरेको छ ।
इस्मा गाउँपालिका–३ तोरीपाटाका नरबहादुर नेपाली चट्याङ पर्दा बेहोस भएका छन् । उनलाई प्राथमिक स्वास्थ्य केन्द्र इस्मामा उपचार गरिएको बताईएको छ । इस्मा गाउँपालिका –४ ढाड स्थित रहेको कालिका निम्न माध्यमिक बिद्यालयमा माथी बाट पहिरो आई पुर्ण रुपमा भत्कीएको प्रहरी नायब उपरिक्षक पन्तले जानकारी दिए ।