अविरल वर्षापछिको पहिरोले जनधनको क्षति/१३ घर जोखिममा

गुल्मी । गुल्मीमा पहिरोमा परि दुई जनाको ज्यान गएको छ । अविरल वर्षासँगै आएको बाढि, पहिरोमा परी जिल्लाको इस्मा गाउँपालिकाका दुई जनाको ज्यान गएको हो । मृत्यु हुनेमा इस्मा गाउँपालिका–१ का बसन्त सारुको १६ महिनाका छोरा सिजन सारुको ज्यान गएको छ ।
इश्वरी खत्रीको छोरी बर्ष ८ कि अपेक्षा खत्रीको पनि घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक डिएसपी केदारराज पन्तले जानकारी दिए । उनको सब घटनास्थल देखि एक किलोमिटर टाढा निस्ति खोलामा मृत अवस्थामा फेला परेको उनले बताए ।
पहिरोमा परि ६ जना घाइते भएका छन् । घाइते हुनेहरु सबै इस्मा गाउँपालिका –१ मल्लीका हुन् । घाइते हुनेमा बर्ष ९० कि पुतली खत्री (अबस्था मध्यम ), बर्ष ६४ का टिका खत्री (अबस्था गम्भीर), बर्ष ५ का आयुस खत्री (अबस्था सामान्य), बर्ष २७ की इश्वरी खत्री (अबस्था गम्भीर, बर्ष २१ कि श्रृजना सारू (अबस्था गम्भीर), बर्ष २५ को बसन्त सारु (अबस्था सामान्य ) रहेका डिएसपी पन्तले बताए । घाइतेहरुलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ ।
यस्तै अविरल वर्षाका कारण मुसिकोट नगरपालिका–२ दर्लुङका ५५ बर्षिय भागिरथ घिमिरे बेपत्ता भएका छन् । त्यस वडाको हाँडीखोला स्थित घुम्ति पसल अचानक पहिरोले बगाउँदा बेपत्ता भएका हुन् । उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
अविरल वर्षाका कारण धेरै घरपरिवार विस्थापित समेत भएका छन् । मुसिकोट नगरपालिका २ रातचौरका जनक के.सी को घर भत्किन गई क्षति भएको छ । उनको ५ जनाको परिवारलाई स्थानियको घरमा सुरक्षित बसोबासको ब्यबस्था मिलाईएको छ ।
सोही स्थानका चुमान सिंह खत्रीको घर भत्किदाँ विस्थापित ६ जनाको परिवारलाई छिमेकीको घरमा सुरक्षित बसोबासको ब्यबस्था मिलाईएको प्रहरीले जनाएको छ ।
त्यस्तै अविरल वर्षाका कारण सोही स्थानका टेक बहादुर कार्किको गोठ पहिरोले पुरी गोठमा रहेका ३ वटा भैसी मरेका छन् । गोठ पुर्ण रुपमा क्षति भएको छ । अर्जुन बहादुर सिंहको गोठ पहिरोले पुरी गोठमा रहेको १ वटा भैसी र ४ वटा बाख्रा मरेका छन् ।
खस्थोक अमराई बस्ने राम बहादुर सुनारको गोठ पहिरोले च्यापि गोठ पुर्ण रुपमा क्षति पु¥याउँदा गोठमा रहेका ३ वटा भैसी र ७ वटा बाख्रा मरेका छन् । यता इस्मा गाउँपालिका–१ का रन बहादुर रेग्मीको गोठ पहिरोले बगाउँदा २ वटा गोरु मरेका छन् ।
सोही स्थानका राम बहादुर केसीको गोठ र खोर बगाउँदा ७ वटा बाख्रा, २ वटा भैँसी, २ वटा गोरु, १० कुखुरा, १५० वटा माछा सहितको पोखरी बगाउँदा क्षति भएको छ ।
देब कुँवरको गोठ पहिरोले बगाउदा २ वटा गोरु मरेका छन् । तेज बहादुर खत्रीको गोठ पहिरोले बगाउदा १ वटा भैसि मरेको छ । इस्मा गाउँपालिका –३ नयाँपोखरा देखी ढाड जोड्ने भित्री सडक खण्डमा माथिबाट पहिरो जाँदा बाटो पहिरोको कारण अबरुद्द भएको डिएसपी पन्तले बताए ।
इस्मा गाउँपालिका–४ ढाँड स्थित रहेको कालिका नि.मा.बि.माथिबाट पहिरो आई स्कुलको ९ वटा कोठा पुर्ण रुपमा भत्कि क्षति भएको छ । अविरल वर्षाका कारण १३ घर पहिरोका कारण जोखिममा परेको उनले जानकारी दिए ।