को होला अबको आईजी ?
काठमाडौं । यही असार २४ गतेबाट आईजीपी ठाकुरप्रसाद ज्ञवाली अवकाश हुँदैछन् । अबको केही दिनमै नयाँ आइजीपी चयन हुने भएकाले आईजीपी को बन्छ भन्ने चर्चा चुलिएको छ ।
एआईजीद्वय शैलेश थापा क्षेत्री र हरिबहादुर पालको जन्मकुण्डली पल्टाएर २८ औं आइजीपी को बन्छ भन्ने विश्लेषण गर्न थालिएको छ । थापा र पाल मध्ये एक जना आईजीपी हुने भएपनि उनीहरुले राजनीतिक शक्तिहरुको प्रयोगमा आफूलाई केन्द्रित राख्न थालेको बताइएको छ । २०४९ साल वैशाख १९ गते एकैदिन सेवामा प्रवेश गरेका थापा र पाल जस्तै निरज शाही र प्रद्युम्न कार्की असोजमा डीआइजीमा वढुवा भएको र वरिष्ठका आधारमा फागुन १५ गते थापा र पालले दोस्रो र तेस्रो वरियता पाएको बताइएको छ ।
यसरी हेर्दा थापाको सम्भावना बढी देखिन्छ भने कुनै राजनीतिक आरोहअवरोह भएन भने वरिष्ठताक्रममा आईजीपी हुने व्यक्तिलाई कुनै पनि विधि वा कानूनले रोक्ने देखिदैन । तर हरेक पटक प्रहरी महानिरीक्षक पदको नियुक्ति हुने बेलामा राजनीतिक विवाद हुनु प्रहरी संगठनका लागि दुर्भाग्यपूर्ण कुरा मान्नुपर्छ ।
एआईजी तारिणीप्रसाद लम्सालले पनि उमेरहदका कारण अवकाश पाउँदैछन् । एआईजीद्वय थापा र पाल मध्ये एक जनाले २०७९ वैशाख १७ गतेसम्म आईजीपी बन्ने मौका पाउने छन् ।
एआईजीमा विश्वराज पोखरेलको पदोन्नति हुने निश्चित प्राय भएको छ भने उनका प्रतिस्पर्धीका रुपमा रहेका प्रद्युम्न कार्की र निरज शाही मध्ये एक जनाको एआईजीमा पदोन्नति हुने बताइएको छ ।
जो आईजीपी भएपनि विवाद आउने गरेका छन् भने काममा सफलता पाउन नसकेको पनि आरोप लाग्ने गरेको छ । राजनीतिक हस्तक्षेप, प्रहरीभित्रको गुटबन्दी, भ्रष्टाचार र चरम महत्वाकांक्षाका कारण आफ्नो पद जोगाउन आईजीपीहरुले नै सहकर्मीहरुलाई सताउने गरेको प्रहरीभित्र बेलाबेलामा चर्चा हुने गरेको छ ।
निर्मला पन्त प्रकरणदेखि लिएर अनेकौ विवादमा नेपाल प्रहरी कमजोर देखियो । २०४६ सालको आन्दोलन पछि कैयन प्रहरी अधिकृतहरुले सामुहिक राजीनामा दिने निर्णय गर्दा अन्तरिम सरकारका तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राजा वीरेन्द्रलाई विन्ति गरेर त्यसको व्यवस्थापन गरेका थिए ।
२०४६ सालको परिवर्तन पछि एउटाएउटा पार्टीको छत्रछहारीमा बस्ने वानी पर्दै जाँदा उच्चपदस्थ अधिकृतहरुमै ध्रुविकरण हुन थालेको देखिन्छ । शक्तिशाली राजनीतिक दलका नेताहरुलाई मोटो रकम खुवाएर आईजीपी हुनुपर्ने र भविष्यका लागि संकलन समेत गर्नुपर्ने भएकाले आइजीपी नै भ्रष्टाचारको प्रेरक तत्व हुने गरेको पुराना प्रहरी अधिकृतहरुको धारणा छ ।
माथिल्लो तहमा पदोन्नति पाउन गृहमन्त्री र गृहसचिवलगायतलाई नजराना चढाउनु पर्ने भन्दै कतिपय अधिकृतहरुले त्यसको विरोधमा राजीनामा समेत दिएका उदाहरण छन् । प्रहरीका उच्च अधिकृतहरुको व्यवहार र आचरण नसुध्रिँदा त्यसले संगठनलाई नै आघात पुर्याइरहेको सुरक्षाविद्हरु बताउँछन् ।
वर्तमान महानिरीक्षक ज्ञवालीले आफूले नेतृत्व सम्हालेपछि देशमा अपराधका घटनामा कमी आएको दावी गरेका छन् । तर प्रहरीभित्रै अपराध र भ्रष्ट प्रवृत्ति बढेको तथ्यांकले देखाएको छ ।
उपत्यका प्रहरी प्रमुख समेत रहेका डीआईजी विश्वराज पोख्रेलले ‘लकडाउनका कारण मान्छेहरु बेरोजगार भएका कारण अपराध बढेको स्वीकार गरेका छन् । लकडाउनको समयमा समग्र आपराधिक घटनामा कमी आएको प्रहरीको तथ्यांक देखाए पनि यसवीचमा अपराधमा प्रहरीको संलग्नता भने बढिरहेको देखिएको छ ।
प्रहरी अधिकृत र जवानहरु एकपछि अर्को गर्दै अपराधमा संलग्न भेटिएको र कोही अख्तियार दुरुपयोग अनुुसन्धान आयोग त कोही आफ्नै संगठनको फन्दामा परेका छन् ।
केही दिनअघि अघि मात्रै जिल्ला प्रहरी कार्यालय उदयपुर दरबन्दी भई मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक सीताराम घिमिरे घुस लेनदेनमा पक्राउ परे । त्यसअघि चीनको सीमाबाट तस्करीमार्फत भित्रिएको सुन लुटेको आरोपमा रसुवाको सीमा प्रहरी चौकी टिमुरेका तत्कालीन प्रमुख खेमराज नेपालसहित १६ जना प्रहरीलाई पक्राउ गरी केही दिनअघि विशेष अदालतमा मुद्दा दर्ता गरिएको थियो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की, पर्साको अस्थायी प्रहरी पोस्ट, इनर्वागाउँका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङसहित ५ जना पनि घुसकै आरोपमा अख्तियारको फन्दामा परेका छन् ।
गत साता बुधबार लागूऔषध नियन्त्रण ब्युरोले प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्र शाहीलाई पक्राउ परेका थिए । उनले लागूऔषध कारोबारीसँग मिलेर भारतीय नाकाबाट लागूऔषध ल्याउने गरेको ब्युरोको दाबी छ ।
केही दिनअघि न्युरोडमा एकजना भारतीय व्यापारी लुटिए । त्यसको दुई दिनपछि सो लुटपाटमा प्रहरीकै संलग्नता देखियो । सो काण्डमा प्रहरी परिसर काठमाडौंमा कार्यरत हवल्दार धीरेन्द्र विष्ट र जवान विक्रमकुमार चन्दलाई अपराध महाशाखाले पक्राउ ग¥यो ।
पछिल्लो समय आपराधिक गतिविधिमा प्रहरीको संलग्नता बढ्दै गएको प्रधान कार्यालयको तथ्यांकले पनि पुष्टि गर्छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा २ सय ५६ जना प्रहरी जागिरबाट निकालिएका थिए भने यस वर्ष ३ सय ८४ जना प्रहरी जागिरबाट निकालिएका छन् ।
यस्ता घटना केही प्रतिनिधि घटना मात्रै हुन । तर सुरक्षाकर्मीहरुकै कारण असुरक्षा बढ्दै गयो भने त्यसले प्रहरी संगठनको विश्वसनीयता हराउँदै जाने देखिन्छ । यस्तो स्थितिलाई कसरी नियन्त्रण गर्लान् भावी आईजीपीले ? प्रश्न अनुत्तरित छ ।