दुर्गेसलाई चोरीको आरोप

पोखरा । गायक दुर्गेश थापाले यस वर्ष पनि तीजलाई लक्षित नयाँ गीत बजारमा ल्याएका छन् । आफ्नै युट्युब च्यानलबाट ‘लोक पपशैली’मा ‘एउटा फोटो खिच’ गीत उनले सार्वजनिक गरेका छन् । तर उनको पछिल्लो गीत पनि विवादमुक्त हुन सकेन ।
‘बिच्च बिच्चमा-२’ नामबाट बजारमा सार्वजनिक गरिएको गीतलाई चोरीको आरोप लागेको छ । लोक कवि अली मियाँको गीतको अन्तरा हुबहु चोरी गरेको आरोप अली मिया लोक वाङ्मय प्रतिष्ठानले लगाएको छ ।
गायक थापामाथि ‘आकासमै बादलु डम्मै छ’ अन्तरा हुबहु चोरी गरेको आरोप छ । उनले गीतको तेस्रो अन्तरामा उक्त शब्द प्रयोग गरेका छन् । ४० को दशकमा सार्वजनिक उक्त गीतमा गायिका हरिदेवी कोइराला र प्रेमराजा महतले स्वर दिएका छन् ।
‘हुन त लोक गीतको सिर्जना हुँदैन, संकलन हुन्छ भन्ने छ । तर भाका पो सिर्जना हुँदैन, शब्द त सर्जककै हुन्छ नि,’ अली मिया लोक वाङ्मय प्रतिष्ठानका सचिव पद्मराज ढकालले अनलाइनखबरसँग भने, ‘शब्द नै हुबहु चोरी गर्न त नपाइने हो ।’
ढकालले अली मियाँको उक्त गीत म्युजिक नेपालबाट पहिल्यै बजारमा आइसकेको जानकारी दिएका छन् । ‘पहिल्यै बजारमा आएको गीतबाट शब्द चोरी भएको छ। अब के गर्ने भन्नेबारे प्रतिष्ठानका अन्य सदस्यहरूसँग कुरा गर्दैछौं,’ उनले भने ।
गायक दुर्गेश थापाले आफूले सानोमा गाउँघरमा उक्त भाकाको गीत सुनेकाले आफूले पनि प्रयोग गरेको तर जानेरै प्रयोग नगरेको स्वीकारेका छन् । ‘अली मियाँको गीत मैले सुनेको पनि थिइनँ,’ उनले भने, ‘पहिले-पहिले गाउँघरमा गाउँथ्यौं । गीत आइसकेपछि मात्रै थाहा भयो ।’
‘पहिले पहिले बच्चामा हामीले गाइन्थ्यो । यो बच्चामा गाएको गीत हो । सानोमा गाएको भनेर प्रयोग गर्यौ । संयोगले उहाँसँग मिल्न गएछ । कालो बादल आकाशैमा डम्मै छ भनेको थिएँ । आकाशैमा भएकै कारण उहाँसँग मिल्न गयो ।

त्यत्रो गीत बनाएको छु । त्यतिका लागि मलाई चोर्नु पनि आवश्यक थिएन । मैले थाहा पाएर चोरेको पनि होइन । यो गीत ३ जना मिलेर बनाएका हौंं । अहिले कसले सुरुमा त्यो शब्द प्रयोग गर्‍यो त्यो नै थाहा भएन ।
‘बाल्यकालमै गाएको गीतको आधारमा ‘पानी धारा’को भन्ने गीत बनाएको थिएँ । त्यो गीत पनि गाउँघरमै गाउने गीत हो । खासमा मैले गाउँघरको गीत बाहिर आओस्, बजारमा चर्चा पाओस् भनेर गाएको हुँ । तर संयोगले मिल्न गयो । अली मियाँको उक्त गीतपछि हरिदेवी र प्रेमराजाले पनि गाउनु भएको छ नि १ मलाई मात्रै जहिल्यै यस्तै पर्छ । ‘अब बिच्चबिच्चमा ३’ को तयारीमा छु’, दुर्गेशले भनेका छन् ।