स्थायी सरकारको माग गर्दै ओलीको पक्षमा प्रदर्शन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी भित्रैबाट राजीनामा दिन दबाब आएपछि उनको समर्थकमा राजधानीलगायत देशका विभिन्न भागमा एकहप्तादेखि प्रर्दशन हुँदै आएको छ ।
ओलीको नेतृत्वमा पार्टी र सरकारका काम प्रभावकारी नभएको भन्दै नेकपा स्थायी समितिका सदस्यहरुले राजीनामाको माग गरिरहेका बेला आज पनि राजधानीका विभिन्न स्थानमा प्रदर्शन भएको छ।
बुधबार उपत्यकाको कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन ९इन्द्रचोक० र लगनेखलमा लगायतका ठाउँमा प्रदर्शन भएको छ।
अत्यावश्यक सेवा क्षेत्र खुला भएपनि लक डाउन पुरै खुलेको छैन। पछिल्लो समय उपत्यकामा संक्रमणको जोखिम बढेपनि सडकमा प्रदर्शनकारीहरुको भिड देख्न सकिन्छ।
प्रदर्शनमा सहभागीहरुले ‘पार्टी एकता जिन्दाबाद’, आइएम वीथ केपी ओली’, ‘राष्ट्रवादी सरकार जिन्दाबाद’, ‘जनताको चाहाना, सरकार परिवर्तन गर्न पाईदैन’, ‘भारतीय हस्तक्षेत्र बन्द गर, सरकार ढाल्न पाईदैन’, ‘मेरो भोटको अधिकार ५ वर्षको स्थायी सरकार’ जस्ता नारा लगाएका प्लेकार्ड बोक्दै नारा लगाएका छन्।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको छ। आजका लागि बोलाइएको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विवाद समाधानका लागि निरन्तर वार्तामा बसिरहेका छन्। तर निकास निस्कन सकेको छैन ।