सार्वजनिक यातायात नचलाउने व्यवसायीहरुको निर्णय

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरुको छाता संगठनहरुले यातायात सञ्चालन नगर्ने बताएका छन् ।
व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्न नसकिने स्पष्ट पारेको छ ।
सरकारले आवश्यक सुरक्षा अपनाएर छोटो दुरीका सवारी सञ्चालन गर्न दिने निर्णय गरेपनि अहिलकै अवस्थामा यातायात सञ्चालन गर्न नसकिने महासंघले जनाएकोछ ।
महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले लकडाउन अवधिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने, लक डाउनपछिको किस्ताका लागि समय सार्नुपर्ने र ब्याज पुर्नविचार गर्नुपर्ने लगायतका माग पुरा नभएसम्म यातायात सञ्चालन नगर्ने निर्णय गरेको छ ।
लक डाउनको १ सय १० दिनसम्म पार्किङमा रहेका सवारी निकाल्दा सर्भिसिङमा मात्रै ५० हजार देखि ५ लाखसम्म खर्च हुनेअवस्था भएकाले पुर्नकर्जाको व्यवस्था गर्नुपर्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताएका छन् ।
चालक र सहचालकका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कोरोना विमा गर्नुपर्ने उनले बताए ।
भाडा बढाएर सवारी सञ्चालन गर्नु अहिलेको समस्यामा समाधान नभएकाले दैनिक सञ्चालन खर्च उठ्ने र बैंक किस्ता तिर्न पुग्ने गरी उपदानको व्यवस्था हुनुपर्ने उनले बताएका छन् ।
सरकारले जिल्लाभित्र मात्रै सञ्चालन गर्ने गरी सिट क्षमताको ५० प्रतिशत यात्रु राखेर सवारी सञ्चालन गर्न दिने र प्रचलित भाडादरमा ५० प्रतिशत बढी रकम लिन पाउने व्यवस्था पनि छ