चिनियाँ राजदूतको अस्वभाविक दौडधुप
काठमाडौं । सत्तारुढ दल नेकपाभित्र आन्तरिक विवाद बढ्दै गएपछि केही दिनयता काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपतिदेखि नेकपाका नेताहरुसँगको भेटघाट तीब्र बनाएकी छिन् । नेकपाको आन्तरिक राजनीतिलाई लिएर राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाललगायतलाई भेटेपछि त्यसको राजनीति र कूटनीतिक वृत्तमा चर्चा भइरहेको छ ।
असार १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी राजदूत यान्छीले बिहीबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेकी थिइन् । यसअघि नेकपाका वरिष्ठ नेता झलनाथ खनाललाई उनकै निवास डल्लुमा भेटेकी थिइन भन् माधव नेपालललाई कोटेश्वर पुगेर भेटघाट गरेकी थिइन ।
सामान्यतय कूटनीतिज्ञहरुले परराष्ट्र मन्त्रालयको पूर्व स्वीकृति लिएर मात्र विशिष्ट व्यक्तिहरुलाई भेट्ने प्रचलन छ । तर राजदूत यान्छीले स्वीकृति नलिई नेताहरुलाई घरघरमा गएर भेट्दा त्यसले नकारात्मक सन्देश दिएको परराष्ट्रविदहरुको तर्क छ । राष्ट्रिय हितका विषयमा केन्द्रित रहेको सरकारले अन्तर्राष्ट्रिय सम्वन्ध कायम राख्ने गरेको प्रधानमन्त्री निकट व्यक्तिहरुले बताए पनि कूटनीतिक मर्यादा नै भंग हुने गरेर काम गर्दा प्रत्युत्पादक हुने कूटनीतिज्ञहरुले औल्याएका छन् ।
काठमाडौंस्थित चिनियाँ राजदूतको सक्रियता बढ्दा नेपालभित्र मात्र होइन, दिल्लीका सञ्चारमाध्यम समेत तरंगित भएका छन् । घरघरमा गएर चिनियाँ राजदूत हाउ यान्छीले विभिन्न नेताहरुसँग भेटघाट गरेपछि उनी विवादमा परेकी हुन् ।
लैनचौरस्थित भारतीय राजदूतको मात्र सक्रियता बढिरहेका बेला त्यसलाई काउन्टर गर्न चीनले सक्रियता बढाएको हुन सक्ने टिप्पणी भइरहेको छ । नेपालमा चीन, भारत, अमेरिका र युरोपेली युनियनको सक्रियताले नेपाली राजनीति प्रभावित भइरहने हो भने राजनीतिक स्थिरता माथि नै प्रश्नचिन्ह आउन सक्ने चेतावनी राजनीतिज्ञदेखि कूटनीतिज्ञले समेत दिएका छन् । ‘कसले कसलाई भेट्यो भन्ने प्रश्न भन्दा पनि यस्तो अमर्यादित कूटनीतिक शैलीले प्रश्रय पाउनु हुँदैन भन्ने तर्फ सतर्क हुनुपर्ने’ उनीहरु बताउँछन् ।
सहसचिव स्तरको राजदूतसँग भेट्न पाउँदा गर्व गर्ने प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरुले आफूलाई सोही स्तरमा झार्नु उपयुक्त देखिदैन । कूटनीतिमा प्रोटोकललाई ठूलो महत्वका साथ हेर्ने गरिन्छ । तसर्थ चीनका राजदूत होउ यान्छी हुन वा नेपालस्थित भारतीय राजदूत विनय मोहन क्वात्रा, कसैले पनि कूटनीतिक मर्यादाको उल्लंघन गर्नु हुँदैन ।
विदेशी दूतहरुको ठाडो हस्तक्षेप बढ्दै गएमा राजनीतिक प्रणालीमाथि नै अनास्था बढ्न सक्ने देखिन्छ । ठूला दलहरुले विश्वसनीयता गुमाउँदै गए भने जातीय र साम्प्रदायिक शक्तिहरुले टाउको उठाउन सक्छन् । तसर्थ राष्ट्रहितलाई केन्द्रमा राखेर राजनीतिक र अन्य सबै शक्तिले तटस्थ भूमिकामा बस्नुपर्ने देखिन्छ ।