गुल्मीमा मास्क नलगाई हिड्नेलाई कार्वाही गरिने

गुल्मी साउन ०२ । गुल्मीमा मास्क नलगाई हिड्नेलाई कार्वाही गरिने भएको छ । मास्क नलगाई हिड्नेलाई कार्वाही स्वरुप जरिवाना लिने निर्णय भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

मास्क नलगाई घर बाहिर निस्कने, सडक तथा सार्वजनिक स्थानमा भिडभाड गर्ने तथा सेवा प्रदायक कार्यालयहरुमा प्रवेश गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिई रु १ सय जरिवाना लिने र सचेत गराउने निर्णय भएको प्रजिअ शर्माले जानकारी दिए ।

अत्यावश्यक सेवा बाहेकका अन्य पसल, उद्योग तथा व्यवसायहरु बिहान दश बजेदेखि साँझ पाँच सम्म मात्र सञ्चालन गर्ने निर्णय भएको छ । अत्यावश्यक सेवा दुग्धजन्य पदार्थ, तरकारी, मासुजन्य पदार्थका पसलहरु भने चौबिसै घण्टा खुला रहनेछन् ।

यातयात सञ्चालन गर्दा पनि अनिवार्य सुरक्षा सतर्कता अपनाउनुपर्ने बताइएको छ । यातयातका साधनहरुमा स्यानिटाइजेशन नगरेको, यात्रुहरुको लागी, स्यानिटाइजरको व्यवस्था नगरेको र यात्रुहरुले मास्क नलगाएको पाइए पनि कार्वाही गरिने भएको छ ।

त्यस्तो अवस्थामा तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिई यात्रुहरुलाई समेत झार्न सक्ने र यसको सम्पूर्ण जिम्मा लिई क्षतिपूर्ती सवारी धनी तथा सावारी चालकले दिनुपर्ने निर्णय भएको छ ।

बन्दाबन्दीको मौका छोपी यात्रुहरुबाट अत्याधिक भाडा अशुल गरेको पाइएमा नजिकैको प्रहरी चौकीमा खबर गर्न पनि आग्रह गरिएको छ । क्वारेन्टिनको रुपमा प्रयोग भई अहिले खालि रहेका बिद्यालयहरुलाई सम्बन्धीत पालिकाहरुबाट स्यानिटाइजेशन मर्मत सम्भार तथा सरफाई गर्ने बताइएको छ ।