कोरोना भाइरसकाबीच रेसुङ्गामा साउने मेला शुरु

प्रतियोगिता आयोजना नगरिने

गुल्मी । गुल्मीको ऐतिहासिक तथा धार्मिकस्थल रेसुङ्गामा यस वर्ष पनि साउने मेला शुरु भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ लाई मध्यनजर गर्दै भएको लकडाउनका बीच साउने मेला शुरु भएको हो । सरकारले जारी गरेको सुरक्षा सर्तकतालाई अवलम्बन गर्दै मेला शुरु गरिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए । विगतका वर्षमा जस्तो उल्लेखीय भत्तजनहरुको भने सहभागीता हुन नसक्ने देखिएको भुसालले बताए ।
मेलाको अवलोकन गर्दा भौतिक दुरी कायम गर्न भुसालले आग्रह गरे । उनले मेलाको अवलोकन गर्दा अनिवार्य मास्क, लगायतका सरकारले जारी गरेका सुरक्षाका उपायहरु अवलम्बन गरी सुरक्षा सतर्कता अपनाउनु पर्ने बताए ।
धार्मिक तथा पर्यटकिय स्थल रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मन्दिर ब्यवस्थापन समितीले एक महिना सम्म धार्मिक प्रवचन सँगै रुद्री,चन्डी, शिवजीको दैनिक पुजा सञ्चालन हुने छन् । मेलाको रेसुङ्गा संरक्षण समितिले व्यवस्थापन गरेको छ ।
रेसुङ्गामा रहेको सिद्धस्थान मन्दिरका लागि जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नं ७ का क्याप्टेन राम बहादुर थापाले मौलो सहयोग गरे । सालको काठबाट निर्मित कलात्मक शैलि झल्कने मौलको व्यक्तिगत तर्फबाट सहयोग गरेका संरक्षण समितिका अध्यक्ष भुसालले बताए ।

प्रतियोगीतात्मक कार्यक्रम प्रभावित
विगतका वर्षहरुमा रेसुङ्गामा लाग्ने एक महिने साउने मेलामा विभिन्न प्रतियोगीतात्मक कार्यक्रम आयोजना हुने गथ्र्यो । यस वर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखीमता कारण प्रतियोगीतात्मक कार्यक्रम स्थगन गरिएको छ ।
यस अघिका वर्षहरुमा मेला अवधिमा विभिन्न प्रतियोगिताहरु आयोजना गरिए पनि यस वर्ष भने आयोजना नगर्ने भुसालले उल्लेख गरे । धेरै जमघट र भेला आयोजना गर्दा कोभिड–१९ को संक्रमण त्रास हुने भएकाले पनि मेला अवधिभर गरिने प्रतियोगिताहरु आयोजना गर्न नसकिएको भुसालको भनाई छ ।
रेसुङ्गाको महत्व के छ ?
सदरमुकाम तम्घासलाई काखमा राखेर बसेको रेसुङा धार्मिक, पौराणिक ऐतिहासिक एवं प्राकृतिक सौन्दर्यले भरीपूर्ण नेपालको तपोभूमी मध्ये एक हो । यसको विशाल र सुन्दरताले गर्दा यसले पर्यटकीय क्षेत्रका रुपमा पनि ख्याति पाउदै आएको छ । समुन्द्र सतह बाट ८ सय मिटर देखि २ हजार ३ सय ५० मिटर सम्म रहेको छ । यस पहाडको नाम रेसुङा रहनुमा बिभिन्न कारण र किम्बदन्ती हरु छन् ।
पहिला त्रेता युगमा महर्षि ऋष्य श्रृङले यहाँ आश्रम बनाई साधना गरेका हुनाले उनै ऋषिको नामबाट रेसुङा नामाकरण भएको हो भन्ने भनाई कत्तिको छ भने कसैको भनाई यो क्षेत्र मगरात क्षेत्र भएकोले यो मगर भाषामा रेस भनेको नुहाउनु मा उपसर्ग जोडेर रेसुङा नामाकरण रहेको हो भन्ने भनाइ पनि कसैकसैको छ ।
ऋष्य श्रृङले साधनाको स्थानको रुपमा रेसुङामा आई गरेको भन्ने भनाई पनि छ । साथै श्रीकृष्णले रेसुङामा बसी वाचन गरेको कथा अर्जुनले अर्जुन डाँडामा बसी श्रवण गर्दथे र रुरु क्षेत्रका तपसी हरुको बर्षे आश्रम रेसुङा नै थियो भनेर भनिन्छ ।
महाप्रभु लक्ष्मी नारायण बाट निर्मित पोखरी हिन्दु धर्मालम्वी हरुका लागि सबै तिर्थ नदिको जल निर्मित पोखरी हो । यस ठाउँमा हरिशयनी , हरीबोधनी एकादशी र साउन महिना भरी स्नान गर्नेहरुको भीड लाग्दछ । यस पोखरीमा नुहाउनाले पापहरु नष्ट भई पुन्य प्राप्त हुने जनविश्वास रहँदै आएको छ ।
रेसुङाको टुप्पोमा निर्मित ४० फिट अग्लो भ्यू टावर चढेर दृश्य अवलोकन गर्दा साच्चै नै स्वर्गमा रहेको अनुभूति गर्न सकिन्छ यस बाट हेर्दा गुल्मीका अधिकाँस भू भाग लगायत बाग्लुङ, स्याङ्जा, अर्घाखाँची पाल्पा र प्युठान सम्मको स्थान हरु स्पष्ट रुपले देख्न सकिन्छ ।
यसको महत्व र ब्यापकतालाई बुझेर प्रचार प्रसार र संरक्षणका निम्ति केही समय यता बिभिन्न क्षेत्रबाट सक्रियता देखाईएको साथै समग्र विकासका लागि गुरु योजना तयार कार्य सम्पन्न भईसकेको छ ।
यसलाई आधार मानेर ग्रामिण पर्यटन प्यारालाईडिङ, चट्टान, आरोहण, पैदल यात्रा, घोडा चढी, माउण्टेन बाईकिङ जस्ता कार्यक्रम हरु अगाडी बढाउन सके यसको विकास अझै दु्रत गतिमा हुने थियो ।
जिल्ला सदरमुकाम तम्घासमा खाना, बास, यातायात जस्ता कुराको राम्रो ब्यवस्था छ । तम्घास देखि बुटवल लगायत पूर्ब पश्चिम जता ततै गाडीहरुको सुविधा छ । तसर्थ यससामुन्नेमा रहेको जुम्ल्याहा भाइ अर्जुन पर्वत र सुन्दर नगरी तम्घास तथा अन्य आसपासका स्थानहरुलाई अवलोेक गरी यसलाई छिटोभन्दा छिटो विकास गर्न सके गुल्मी बासीहरुका लागि भाग्य नै निर्माण हुने थियो ।