‘सैनिक आचारसंहिता अवकास पछि पनि पालना गर्नुपर्छ’

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले दोस्रो सैनिक आचारसंहिता सप्ताह, २०७७ का अवसरमा शुक्रबार सम्वोधन गर्दै संगठन सुधारका लागि आचारसंहिताको व्यवहारिक रुपमा पूर्णपालना गर्न सैनिक अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
शुत्रबारबाट सैनिक मुख्यालयमा शुरु भएको आचारसंहिता सप्ताह कार्यक्रममा सबै अधिकृत तथा सकलदर्जालाई प्रधानसेनापति थापाले सैनिक आचारसंहिता सैनिक अधिकारीका लागि वहालमा रहँदा मात्र नभइ अवकाशपछि पनि पालना गर्नुपर्ने जीवनोपयोगी मार्गदर्शन भएको बताएका छन् ।
नेपाली सेनाको उच्च तहबाट सेवा निवृत्त भएपछि कतिपय अधिकारीहरूले नेपाली सेनाको गोपनीयता समेत भंग हुने र सेना गरेका सम्पूर्ण राम्रो कामको जस आफूले लिने प्रवृत्ति देखाउँदै लेख, अन्तर्वार्ता र पुस्तक प्रकाशित गर्ने क्रम बढिरहेका बेला सेनापति थापाको सो भनाइ आउनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रधानसेनापति थापाले सैनिकहरूलाई पूर्ण अनुशासनमा रहन निर्देशन दिएको बताइएको छ । थापा प्रधानसेनापति भएदेखि नै सैनिक अनुशासन, सदाचार र कर्तव्यपालनमा जोड दिँदै आएका छन् । उनी प्रधानसेनापति भएदेखि सेनाभित्र निकै शुद्धिकरण आएको पाइएको छ । शान्ति मिशनमा पठाउने प्रक्रिया निष्पक्ष बनाउनेदेखि सैनिक आचारणविरुद्ध जाने र अनियमितता गर्नेहरूलाई कारवाही गर्दै आएका छन् ।
सैनिक आचारसंहिता सप्ताहका क्रममा सैनिक आचारसंहिता, मिडिया नीति, सामाजिक सञ्जालको प्रयोग, मानवीय आचरण, भर्ना छनौट, आर्थिक कारोबार, लैंगिक आचरण लगायतका विषयमा कक्षा सञ्चालन, प्रस्तुतिकरण र छलफल हुने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताएका छन ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेको पदोन्नति भएपछि पौडेलले यही साउन १ गतेदेखि प्रवक्ताको जिम्मवारी सम्हालेका छन् ।