उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित भएको छ । सरकारले लकडाउन अन्त्य गरे पनि सभासम्मेलन गर्न रोक लगाएका कारण साउन २६ र २७ गते का लागि तोकिएको ५४ औं साधारणसभा स्थगित भएको बताइएको छ ।
महासंघको आज बसेको पदाधिकारी तथा पूर्वअध्यक्षहरूको बैठकले सरकारले सभा सम्मेलन गर्न छुट दिएको १५ दिनभित्र साधारणसभा गर्ने गरी साधारणसभा स्थगित गर्ने निर्णय गरेको बताइएको छ ।
महासंघको ५४औं साधारण सभा चैत २८ र २९ गते तय भएको थियो। तर सरकारले लकडाउन जारी गरेसँगै साधारण सभा जेठको ७ र ८ गते काठमाडौंमा गर्ने तय भएको थियो । उक्त समयमा पनि लकडाउन जारी रहेको भन्दै महासंघले साधारण सभा साउनको २६ र २७ गतेका लागि तोकेको थियो।
सरकारले बुधबार लकडाउन अन्त्यको घोषणा गरे पनि स्कूल कलेज, सिनेमा हल, सभा सम्मेलन गर्न रोक लगाएको छ। जसका कारण महासंघको साधारणसभा अनिश्चित भएको हो । नेतृत्वका लागि उद्योगी व्यवसायीहरुले दुई वटा प्यानल बनाएर मैदानमा उत्रिएका थिए ।