प्रधानमन्त्री ओली र कांग्रेस सभापतिबीच भेटवार्ता
बन्दाबन्दी खुलेपछिको चुनौती सामना गर्न विशेष रणनीति निर्माण गर्न सुझाव
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । उनीहरुको बीचमा १२० दिन लामो बन्दाबन्दी खुलेपछि भएको भेटमा सभापति देउवाले कोरोना भाइरस सङ्क्रमण र बाढी पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराएको बताइएको छ ।
बन्दाबन्दीका बाबजुद सङ्क्रमितको सङ्ख्या २० हजार पुग्न लागेको र ४३ जना भन्दा बढीको मृत्यु भएको स्थितिमा बन्दाबन्दी खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न सभापति देउवाले आग्रह र माग गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सभापति देउवाले कोरोना परीक्षण पिसिआर प्रविधिबाट मात्रै गर्न आग्रह गर्दै, क्वारेन्टिनहरु अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएको भन्दै आपत्ति जनाएको बताइएको छ ।
सभापति देउवाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तीव्रता दिन र बाढी तथा पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंको मृत्यु, कयौं बेपत्ता र सयौं घरबारविहीन भएको हुँदा युद्धस्तरमा कार्य गर्न सरकारलाई आग्रह गरेको बताइएको छ ।
कोरोना सृजित चुनौतीका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनले अघि सारेका जायज मागलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि सभापति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको मुख्य सचिव पौडेलले बताएका छन् ।