१ सय ४७ जना थपिए संक्रमित, एक जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २४१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ ।
आज थपिएका १ सय ४७ जना संक्रमित मध्ये काठमाडौंमा ५ जना र ललितपुर र भक्तपुरमा २÷२ जना छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनुकटा र सुनसरीका २र२, कोशी अस्पताल विराटनगरमा मोरङका ४ जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १ र मोरङका ४, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सिरहाका २ र सप्तरीका ७ जना छन् भने नारायणी अस्पताल वीरगञ्जमा पर्साका १७, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका २, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ललितपुरका १ र काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको छ।
गत २४ घन्टामा गरिएको परीक्षणमा भरतपुर अस्पताल प्रयोगशाला चितवनमा महोत्तरीका १, पाटन अस्पताल ललितपुरमा काठमाडौंका ३, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पर्वतका १ जनामा कोरोना पाइएको छ भने स्टार अस्पताल सानेपामा ललितपुरमा १, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका १, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा कास्की र स्याङजाका १÷१ र पर्वतका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा रुपन्देहीका ११, प्युठानका १ र नवलपरासीका १ जनामा कोरोना भेटिएको छ।
त्यस्तै, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीका २, सुर्खेत प्रादेशिक अस्पतालमा सुर्खेतका ५ र सल्यानका १, दैलेख प्रयोगशालामा दैलेखका २४ जनामा कोरोना पुष्टि भएको छ भने डडेल्धुरा अस्पताल प्रयोगशालामा डडेल्धुराका २ र डोटीका ७ र सेती प्रादेशिक अस्पतालमा कैलालीका १, बझाङका १ र कञ्चनपुरका ३० जनामा कोरोना भेटिएको छ ।
हाल ५ हजार ३ सय ५८ जना उपचारत छन् भने ४३ जनाको मृत्यु भएको छ ।
वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएपछि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको हो । नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज– ६ माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको हो।
श्वासप्रश्वासमा समस्या देखिएका उनी असार ६ गते बिहान अस्पताल भर्ना भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले बताए। अस्पताल भर्ना भएकै दिन साँझ ६ बजे उनको मृत्यु भएको उनले जानकारी दिए।
उनमा कुनै पनि पुरानो दीर्घरोगको समस्या नरहेको अस्पतालले जनाएको छ। मृत्यु भएपछि उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । बुधबार राति परीक्षणमा उनको कोरोना पुष्टि भएको डा उपाध्यायले बताए।