ओली–दाहाल सत्तासंघर्षमा देउवा ‘विच्चमा’
काठमाडौं । नेपालीका एउटा उखान छ ‘गोरुसँग जोगी डराए, जोगीसँग गोरु डरायो’ यो कथन अहिले सत्तारुढ दलभित्र चरितार्थ हुन थालेको देखिन्छ । केपी ओली र पुष्पकमल दाहाल पार्टीका दुई अध्यक्ष भएपनि दुवै एकअर्काका वैरी जस्ता देखिएका छन् । अनेकौ षडयन्त्र गरेर दाहालले ओलीलाई प्रधानमन्त्री तथा अध्यक्ष पदबाट हटाउन खोजेका छन् भने ओलीले पनि विभिन्न पासा फ्याकेर दुवै पद वचाउन खोजिरहेका छन् ।
२०३५ सालदेखि सक्रिय राजनीतिमा आएका पूर्वप्रधानमन्त्री दाहाल ओलीको षडयन्त्रमा परेर आफ्नो राजनीतिक भविष्य समाप्त हुने हो कि भन्ने आशंकाले ग्रस्त देखिन्छन् । केही दिनअघि दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीका सामुन्ने उभ्याएर ओलीले ‘जनताको वहुदलीय जनवाद’ स्वीकार गर्न आग्रह गरेको तर दाहालले सहज रुपमा नलिएको नेकपाका नेताहरुले बताएका छन् ।
दाहालले जबज स्वीकार गरेको खण्डमा ओलीले उनलाई आउँदो महाधिवेशनपछि पार्टी अध्यक्ष बनाउन सकिने बचन दिएका छन् । तर जबज स्वीकार गर्दा आफ्नो छुट्टै राजनीतिक एवं सैद्धान्तिक अडान नदेखिने र पार्टीभित्र समेत माओवादी पृष्ठभूमिका नेता, कार्यकर्ता रुष्ट हुने सम्भावनालाई लिएर दाहाल ओलीको प्रस्ताव मान्न तयार देखिदैनन् ।
जबजका कारण झस्किएका दाहालले माओवादी पृष्ठभूमिका नेताहरुलाई आफ्नो निवासमा बोलाएर नेकपा र आफ्नो राजनीतिक भविष्यबारे छलफल पनि गरेका छन् । केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल अहिले तीन वटा छुट्टाछुट्टै गुँड बनाएर गुटबन्दी गरिरहेका छन् । तर नेताहरु आफूले विभिन्न मुद्दा र विषयमा छलफल गरिरहेको र त्यसलाई गुटबन्दी भन्न नमिल्ने तर्क गर्छन् ।
यसैवीच प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच केही दिनअघि भएको डेढ घण्टा लामो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपाभित्रको शक्तिसंघर्षलगायत विभिन्न विषयमा कुरा भएको बताए पनि गाँठी कुरा के भयो भन्ने खुलेको छैन ।
असार २१ मा प्रधानमन्त्री ओलीका दूत बनेर नेम्वाङले सभापति देउवालाई भेटेका थिए । उक्त भेटमा देउवासँग भएको कुराकानीबारे नेम्वाङले प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका थिए । देउवाले राखेको कुराबारे प्रधानमन्त्रीको जवाफबारे सोही दिन देउवालाई फोन गराएर नेम्वाङले सुनाइ दिएका थिए । नेपाली राजनीतिमा उक्त भेटको चर्चा सेलाउन नपाउँदै साउन ८ प्रधानमन्त्री र देउवाबीच पुनः विहीबार ओली र देउवाबीच ‘वान टू वान’ वार्तामा भएको थियो भने शुक्रबारको छलफलमा नेकपा संसदीय दल उपनेता सुवास नेम्वाङ र काँग्रेस नेता रमेश लेखक सहभागी थिए । विहीबारको छलफलमा देउवाले लकडाउनपछिको चुनौतीमा विशेष रणनीति बनाउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको भनिएको छ । तर शुक्रबारको छलफल संवैधानिक आयोगको नियुक्त प्रक्रियामा केन्द्रित भएको नेम्वाङले वताएका छन् ।
नेम्वाङ र लेखकको साथमा ओली र देउवाबीच शुक्रबार विहान ११ बजे करिब १ घण्टा छलफल भएको हो । नेम्वाङले उक्त छलफललाई विगतको छलफल कै निरन्तरता भएको बताए । संवैधानिक आयोगका सम्बन्धमा गत असार १७ गते प्रधानमन्त्री ओली र देउवाबीच ‘गोप्य’ भेटवार्ता भएको थियो ।
पार्टीभित्र आफूलाई अप्ठ्यारो पर्दै गएपछि ओलीले पार्टी समेत फुटाउन सक्ने, संकटकाल घोषणा गर्न सक्ने, संसद पनि भंग गर्न सक्ने वा नेपाली कांग्रेससँग मिलेर संयुक्त सरकार बनाउन सक्ने सम्भावना पनि बाँकी रहेको विभिन्न विश्लेषकहरुले जनाएका छन् ।
तर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायतले सभापति देउवाले प्रधानमन्त्रीसँग भेट्ने कुरा आफूहरुलाई पूर्व जानकारी नभएको बताएका छन् । त्यसैले कांग्रेसभित्र पनि ओली र देउवाको गोप्य वार्तालाई रहस्यमय मानिएको छ ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीसँग पार्टी सभापतिको उठ बसबारे विमति प्रकट गरेका छन् । प्रधानमन्त्रीसँगको भेटबारे आफूहरुलाई अहिलेसम्म कुनै पनि जानकारी नगराइएको पौडेलले बताएका छन् । ‘उहाँको यही कार्यशैली त मन नपरेको हो । केन्द्रीय समिति बैठकमै सरकारसँगको उठ बसका सम्बन्धमा सचेतक हुनुपर्ने कुरा उठाएका थियौँ । सरकारले कोरोना रोकथामा र नियन्त्रणका नाममा गरिद गरिएको स्वास्थ्य साम्रगीमा ठूल ठूला भ्रष्टचारका काण्डहरु छन् । वाइडवडीका काण्ड, एनसेलको भ्रष्टचारको काण्ड, गोकर्ण रिसोर्टको काण्ड पनि छ,’ देउवाको कार्यशैलीप्रति आक्रोशित हुँदै पौडेलले भने, ‘सारा भ्रष्टचारका काण्ड दबाउन लागेर प्रधानमन्त्री नै भ्रष्टचारको संरक्षण हुनु भएको छ । त्यसलाई हाम्रो पार्टीले भण्डाफोर गर्न नसक्ने हो भने पार्टी अस्तित्व रहन्छ ? विपक्षी दलको जिम्मेवारी यसरी पूरा हुन्छ भन्ने मेरो कुरा हो ।’
अध्यक्ष ओली र दाहाल एकअर्कालाई कमजोर बनाउने रणनीति लागेका छन् । दाहालले पनि कांग्रेसका नेताहरुसँग पटकपटक छलफल गरेको बुझिएको छ । पार्टीभित्रको शक्तिसंघर्षमा प्रतिपक्षी दलका नेता देउवालाई दुवै पक्षले प्रयोग गर्न खोजेका छन् ।
मंसिरमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने ओलीको आश्वासनलाई दाहालले स्वीकार गरेका थिए । तर एक दिन नवित्दै दाहालले कुनै सहमति नभएको बताए भने आफूलाई झुक्याएर प्रधानमन्त्री निवास पुर्यायो भन्दै माधव नेपाल समूहलाई आश्वस्त पार्न खोजेपछि दाहाल ओली र माधव दुवै समूहको अविश्वासको पात्र बनेका छन् । दाहालको दुई जिव्रे रणनीतिको आलोचना गर्दै कहिले प्रधानमन्त्री ओलीसँग त कहिले माधव नेपालसँग नजिक भएर भविष्यका लागि दुनो सोझ्याउन खोजिरहेको टिप्पणी भएको छ ।
यसैबीच प्रधानमन्त्री ओलीले सरकारको चौतफी आलोचनालाई मत्थर गर्न मन्त्रिमण्डलमा हेरफेर गर्ने संकेत देखाएका छन् । झलनाथ खनाल, वामदेव गौतम, माधव नेपाललगायतका आफ्ना आलोचकलाई मत्थर पार्न उनले ती नेताको सिफारिसमा केही व्यक्तिलाई मन्त्री बनाउन सक्ने बताइएको छ ।
पार्टीमा बढेको असन्तुष्टि शान्त बनाएर आफ्नो पद सुरक्षित गर्न प्रम ओलीले महाधिवेशनसम्म आफूलाई मद्दत गर्नुपर्ने भन्दै पुष्पकमल दाहाललाई पनि शान्त तुल्याउने प्रयास गरिरहेका छन् ।
माओवादी पृष्ठभूमिका जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, पम्फा भुषाल, प्रभु शाहलगायतलाई मन्त्री बनाएर माओवादी पृष्ठभूमिका नेतालाई आक्रामक हुन नदिने ओलीको रणनीति देखिन्छ ।
यस्तै आफ्ना आलोचकहरु खनाल, गौतम, नेपाल आदिका निकटवर्तीहरुलाई शान्त बनाउन उनीहरुले भनेका मानिसहरुलाई मन्त्री बनाउँदैमा पार्टी एकता बलियो हुने र अहिलेको कचिंगल समाप्त भइहाल्ने अवस्था देखिदैन । तर विगतको तुलनामा पार्टीभित्र केही शान्ति छाउने सम्भावना बढ्ने देखिन्छ ।
पार्टीभित्र देखिएको ध्रुविकरण रोकिएन भने महाधिवेशन भन्दा पहिले नै नेकपा फुट्न सक्ने सम्भावना देखिएको छ । परिणाम जे भएपनि मंसिरमा महाधिवेशन सम्भव नहुने अवस्था छ भने जबजलाई मान्न नसकिने दाहालको अभिव्यक्तिले ओली र दाहालको तिक्तता अरु बढ्ने, राजनीतिक अस्थिरता बढ्दै जाँदा कूटनीतिक चलखेल समेत बढ्ने र ती सवैको दुरगामी असर राष्ट्रिय राजनीति एवं राष्ट्रिय सुरक्षामा समेत पर्न सक्ने चिन्ता विश्लेषकहरुको छ ।