कांग्रेसको १४ औं महाधिवेशन : फागुनमा हुनेमा पनि आशंका !

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन गर्ने निर्णय गरेपछि पार्टीभित्रको गुटबन्दीले चर्को रुप लिन थालेको छ । विवादका कारण नेताहरु आपसमा ध्रुविकृत हुँदै गएका छन् । फागुनको पहिलो हप्ताबाट शुरु हुने महाधिवेशन निर्धारित मितिमै हुन्छ भन्ने कुरामा कैयन नेता, कार्यकर्ता सन्देह व्यक्त गरिरहेका छन् । यसो हुनु स्वभाविक पनि छ । किनभने केन्द्रदेखि तल्लो तहसम्मको गुटबन्दीले जिल्ला र प्रदेश पनि प्रभावित हुने देखिन्छ ।
फागुन ७ देखि १० गतेसम्म १४ औं महाधिवेशन गरेपनि आफ्नो राजनीतिक भविष्य अरु सुरक्षित हुन्छ भन्ने शेरबहादुर देउवालाई लागेको छ । तर उनलाई हटाएर पार्टीको नेतृत्व लिन रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला र कृष्ण सिटौला, गगन थापा जस्ता नेताहरु समेत जुम्जुमाइरहेका छन् ।
बेलाबेलामा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका सभापति देउवाको कठोर आलोचना गरेका छन् । १४ औं महाधिवेशनमा आफूलाई देउवाको सवैभन्दा विकल्प ठानिरहेका पौडेलले बीपी कोइरालाको ३८ औं स्मृति दिवसका अवसरमा सुन्दरीजलमा आयोजित कार्यक्रममा बोल्दै बीपीले बनाएको पार्टी यति कमजोर हुनुमा देउवाको नेतृत्व निकै जिम्मेवार भएको आरोप लगाएका छन् ।
मौका पाउनासाथ नेतृत्वको आलोचना गर्ने पौडेल जस्ता नेताहरु कांग्रेसमा अरु पनि छन् । बीपीको आदर्श र सिद्धान्त बिर्सिदै गएको भन्दै पार्टीभित्रैबाट आलोचना भइरहेको छ । यस्तो स्थितिमा सिद्धान्त बिर्सिनेमा पौडेल पनि पर्छन् । आफू ठिक र अरुलाई वेठिक भन्ने पूर्वाग्रहका कारण हरेक पार्टीभित्र गुटबन्दी बढ्दै गएको देखिन्छ ।
नेपाली कांग्रेसको महाधिवेशन फागुनमै गर्ने निधो गरेपछि सभापति शेरबहादुर देउवाले आफूलाई बलियो बनाउन विभिन्न भ्रातृ संस्थाहरुलाई संगठित गर्दै अघि बढ्ने रणनीति लिएका छन् । उनले आफ्ना आलोचक नेताहरुको कुरा नसुनी पार्टीका विभाग र भ्रातृ संस्थाहरुमा नियुक्त गरेपछि पार्टीभित्र विवाद चर्किएको छ ।
१४ औं महाधिवेशन निर्धारित मितिमै हुने दावी गरिएपनि केही नेताहरुले निर्धारित मितिमा महाधिवेशन हुने कुरामा आशंका व्यक्त गरेका छन् । गत वर्ष फागुनमै हुनुपर्ने महाधिवेशनलाई विशेष कारण देखाएर एक पछि धकेलिएको थियो । आन्तरिक विवादका कारण आउँदो फागुनमा पनि महाधिवेशन हुन सक्छ कि सक्दैन भन्ने कुरामा ढुक्क हुने अवस्था छैन ।
मुख्यविवाद क्रियाशिल सदस्यता नवीकरणमा देखिएको छ । १३ औं महाधिवेशनदेखि जारी गरिएको सदस्यता नवीकरण सम्वन्धी विवाद अझै पनि समाधान हुन सकेको छैन । आफूले जित्ने परिस्थिति तयार नभएसम्म सभापति शेरबहादुर देउवाले महाधिवेशन गर्न नदिने रणनीति बनाएको कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलको तर्क छ ।
विभिन्न नेताले फागुनमै महाधिवेशन हुन्छ भन्ने तर्क गरेपनि त्यो लम्विन सक्ने र २०७८ भदौसम्मलाई मिति सर्न सक्ने आशंका गर्न थालिएको छ । यसरी पार्टीभित्रको गुटबन्दी, अविश्वास र जालझेलका कारण पार्टीले एकातर्फ आफ्नै नेता, कार्यकर्ताको विश्वसनीयता गुमाइरहेको अवस्था छ भने वर्तमान सरकारको बलियो विकल्पका रुपमा हेरिएको नेपाली कांग्रेस आफै कमजोर बन्दा जनतामा समेत निरासा छाउने सम्भावना बढेको छ ।
केन्द्रदेखि वडासम्मका कार्यकर्ताहरु नेपाली कांग्रेसलाई बलियो बनाउने भन्दा पनि आफूले समर्थन गरेका नेतालाई बलवान देख्न चाहन्छन् । तर केही नेता बलियो हुँदैमा पार्टी बलियो हुँदैन भन्ने हेक्का राखेको देखिदैन ।
नीति, नियम र अनुशासनले चल्नुपर्ने पार्टी केही नेताको लहडमा चल्ने गरेको भन्दै कार्यकर्ताले आलोचना गरेपनि उनीहरु कुनै न कुनै गुटमा आवद्ध हुन वाध्य देखिन्छन् । कलकत्तामा खुलेको नेपाली कांग्रेसले शुरुदेखि नै गुटबन्दी भोग्दै आएको छ ।
एउटै बाबुबाट जन्मिएका मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइरालाबीचको झगडाले शुरुदेखि नै कांग्रेसलाई गाँजेको थियो भने वीपी तथा टंकप्रसाद आचार्य, वीपी र डिल्ली रमण रेग्मीको झगडा तथा २०४६ सालपछि गिरिजाप्रसाद कोइरालासँग गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको झगडाले पार्टीलाई बलियो हुन नदिएको देखिन्छ ।
गणतन्त्र स्थापना भएपछि पनि नेपाली कांग्रेसले स्पष्ट बाटो लिन सकेको देखिदैन । सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी भनिएपनि नीति र नेताको समन्वय नहुँदा वामपन्थी राजनीति मौलाएको पुराना राजनीतिक विश्लेषकहरुको तर्क छ । तसर्थ पछिल्लो संसदीय निर्वाचन र विभिन्न तहको चुनावमा नराम्रोसँग पराजित कांग्रेसले आफ्नो भविष्य सुरक्षित गर्न राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर एकतावद्ध हुनै पर्ने आवश्यकता देखिन्छ ।