कोरोना संक्रमितको संख्या घट्दै, त्रास बढ्दै

थप १३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार ६१३ पुग्यो

काठमाडौं । आइतबार १ सय ३० जना कोरोना संक्रमित भेटिएका छन । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज थपिएका समेत गरेर नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १३ जना पुगेको छ। हाल ५ हजार ५ सय ४० जना संक्रमितको उपचार भइरहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १३ हजार १२८ उपचारपछि निको भएका छन्।
हालसम्म नेपालमा ४५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
यसैबीच सरकारले लकडाउन खुला गरेसँगै कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् । दुई जना मात्रै कोरोनाका कारणले मर्दा लकडाउन गरिएको थियो भने मर्नेको संख्या ४५ पुगी सकेका छन् । लकडाउन किन खोलियो भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत आपत्ति जनाएको छ ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले यो निर्णयलाई अपरिपक्व भनेका छन् । महामारी बढाउन सरकारको निर्णय नै कारकतत्व बन्न सक्ने स्वास्थ्यविद्हरुको विश्लेषण छ । लकडाउनको बीचमा आवश्यक तयारी नगरिएको, राजधानीलगायत देशका विभिन्न ठूला शहर बजारमा उपचार र परीक्षण केन्द्रहरुको अभाव भएको आरोप उनीहरुको छ ।
यस्तै खुला सिमाना कायमै रहेका कारण भारतबाट समेत कोरोनाका विरामीहरु थपिन सक्ने धेरैले विश्लेषण गरेका छन् । स्वास्थ्य क्षेत्रका विभिन्न विज्ञले ‘सम्पूर्ण तयारी पूरा गरेर जनजीवन सुरक्षित तुल्याउने उपाय भएपछि मात्र लकडाउन खोलेको भए बुद्धिमानी हुन सक्थ्यो’ भनेका छन् ।
सरकारले भने क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको संख्या घट्दै गएको र धेरैजसो निको भएर घर गएका कारण आउँदा दिनमा कोरोनाको महामारी घट्ने विश्लेषण गरेको देखिन्छ । तसर्थ विज्ञहरुको राय सल्लाहबेगर सरकारले एकतर्फी रुपमा लकडाउन खोलेपनि कैयन जिल्लामा कोरोनाको संक्रमण फैलिएको भन्दै निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको छ ।
सप्तरी जिल्ला प्रशासनले राजविराजलगायतका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ भने वीरगञ्ज अनिश्चितकालिन निषेज्ञाता जारी गरिएको छ । यस्तो अवस्था तराईका अन्य जिल्लामा पनि आउन सक्ने देखिन्छ । त्यसैले समूहमा कोरोना फैलिन नदिन सरकारले लकडाउनलाई निरन्तर वा व्यवस्थित गर्नुपर्छ भन्ने आवाज बढ्न थालेको छ ।