अवरुद्ध रिडी रुद्रवेणी–वामीटक्सार सडकखण्ड तीनदिनपछि एकतर्फी सञ्चालनमा

गुल्मीको रिडी रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध भएको तीन दिनपछि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । रुरुक्षेत्र गाउँपालिका–१ खोपा भन्ने स्थानमा बाटो माथिबाट पहिरो जाँदा विगत तीन दिन देखि सडक अवरुद्ध भएको थियो ।

सोमबार (आज) दिउँसो देखि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिनुभयो ।

एकतर्फी रुपमा साना सवारी साधन सञ्चालन भएपनि ठुला सवारी साधनहरु भने सञ्चालन गर्न कठिनाई रहेको उहाँको भनाई छ । सडकलाई पुर्ण रुपमा सञ्चालन गर्न आवश्यक पहल समेत भइरहेको पन्तले जानकारी दिनुभयो ।

एकतर्फी रुपमा सडक सञ्चालनमा आएसँगै रोकिएका साना सवारी साधन गन्तव्यतर्फ पठाईएको उहाँले जानकारी दिनुभयो । अविरल वर्षाका कारण गुल्मी जिल्लाका ग्रामिण भेगका अधिकांश सडक जोखिमयुक्त र अवरुद्ध बनेका छन् ।

उता अविरल वर्षाले गुल्मीको कालिगण्डकी गाउँपालिका जोखुममा पशुचौपायाको क्षति भएको छ । कालिगण्डकी गाउँपालिका–४ जोखुमका दिल बहादुर घर्तिको गोठ अविरल वर्षाले भत्किदाँ गोठमा रहेका १ वटा भैसीँ र १ वटा बाख्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिनुभयो ।