सबै विद्यालयहरुमा स्थानीय पाठ्यक्रमः

काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका सबै संस्थागत र सामूदायिक विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागु गरेको छ । विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ ।

महानगरपालिकाले पहिलो पटक यहाँको पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारेको हो । अवदेखि विद्यार्थीले उक्त पूर्णाङ्कको पाठ्यक्रम पढ्नु पर्ने छ ।

कक्षा १ देखि ८ सम्म पठन–पाठन गराउनका लागि महानगरपालिकाले स्थानीय विषयको पाठ्यक्रम तयार गरि सबै संस्थागत र सामूदायिक विद्यालयहरूमा लागु गर्ने तयारी गरेको छ । हाल सम्म यस महानगरपालिका भित्र ९२ वटा सामूदायिक विद्यालय मध्ये ८६ वटा साधारण विद्यालय, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीहरुका लागि रहेका छन भने संस्थागत विद्यालयको संख्या ६ सय ४० रहेको छ ।

माहानगर भित्रका सबै विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म १०० पूर्णाङ्कको स्थानीय विषयको पाठ्यक्रम पठन–पाठन हुनेछ । माहानगरले आफ्नो क्षेत्र भित्र मानिने चाडपर्व, संस्कार संस्कृति, स्वास्थ्य र सरसफाई, रहनसहन सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक स्वरुप, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय बारे परिचित गराउने उद्देश्यले यस्तो पाठ्यक्रम तयार पारेको जानकारी दिएको छ ।

‘पाठ्यक्रम स्थानीय भाषा नेपालभाषाको माध्यमबाट पठनपाठन गरिने छ,’ पाठ्यक्रम तयार गर्न महानगरपालिकाले गठन गरेको पाठ्यक्रम समितिका संयोजक डा. चुन्दा वज्राचार्यले भनिन्, ‘कक्षा १ देखि ८ सम्म पठनपाठन गराउन महानगरपालिकाले नेपालभाषाबाट तयार गरेको हो । बज्राचार्यले बालबालिकालाई सिक्न सजिलो होस भन्ने उदेश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन हुने जानकारी दिइन् ।

काठमाडौं महानगरपालिकाको सातौं नगरसभाले स्थानीय पाठ्यक्रमको विषयमा निर्णय गरिसकेको छ ।