गुल्मीमा सामाजिक सद्भावका लागि सामूहिक रक्षाबन्धनको आयोजना गरिदैँ
गुल्मी । नेपालीे समाजमा हजारौँ वर्षदेखि सामाजिक समस्याको रुपमा विभिन्न प्रकारका विभेदकारी प्रथा परम्परा संस्कार, संस्कृतिका प्रचलनहरु रहेका छन् । यस्ता विभेदकारी प्रचलनहरुको अन्त्यको लागि विगत लामो समयदेखि शिक्षा र चेतनाको जागरणसंगै विभिन्न अभियानहरु संचालन हुँदै आए ।
नेपालको विभिन्न कालखण्डमा नागरिक स्वतन्त्रता, समानता र मानव अधिकारका लागि भएका आन्दोलनको परिणाम स्वरुप राजनीतिक परिवर्तन पश्चात जातीय विभेद अन्त्यको लागि संविधान, ऐन कानूनमा विशेष व्यवस्था गरियो । नेपालमा कानूनतःजातीय विभेदको अन्त्य भइसक्यो । तर पनि विभेदकारी प्रचलनका अवशेषहरु व्यवहारिक रुपमा अन्त्य भइरहेका छैनन् ।सार्वजनिक सरोकारका क्षेत्रका रुपमा रहेका विभिन्न धार्मिक तथा साँस्कृतिक कार्यहरुमा समानता कायम हुन सकीरहेको छैन् ।
सोही कुरालाई ध्यानमा राख्दै गुल्मीमा सामूहिक रक्षाबन्धन आयोजना गरिएको छ । यहि साउन १९ गते रक्षाबन्धन तथा जनै पूर्णिमाको दिन सबै जातजाती, समुदायबीच सामाजिक सद्भावका लागी सामूहिक रक्षा बन्धनको आयोजना गर्न लागिएको छ । विश्व हिन्दु महासंघ तथा दलित साझा मञ्च गुल्मीको आयोजनामा हिन्दु धर्मको संरक्षण र सामाजिक सद्भावका लागि सामुहिक रक्षा बन्धनको आयोजना गर्न लागिएको बताईएको छ ।
सामाजिक त्रुटिका रुपमा रहेको जातीय विभेद्को अन्त्यका लागि सामूहिक रक्षाबन्धनको आयोजना गरिएको विश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो । सो दिन ब्रह्माण पण्डितहरुद्वारा सामुहिक डोरो बाँध्ने कार्यक्रम आयोजना गरिएकाले सबैलाई त्यस कार्यक्रममा सहभागी बन्न पनि आग्रह गर्नुभयो ।
‘धर्ममा कुनै प्रकारको विभेद छैन् । सामाजिक त्रुटिको रुपमा रहेको जातीय विभेद्को अन्त्य गर्नुपर्छ ।’ विभेद् पालेर सामजिक सद्भाव र एकता कायम हुन नसक्ने अध्यक्ष भुसालले बताउनुभयो । ‘जन्मदा सबै शुद्र नै हुन्छन् । संस्कारले मात्र ब्रह्माण स्थापित हुन्छ भनेर धर्मशास्त्रमा उल्लेख छ ।’
एउटै धर्म अवलम्बन गर्दै आएका दलित समुदाय त्यही धर्म मान्ने गैर दलितबाट जातीय विभेद्मा परेकाले अर्को धर्ममा पलायन भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘हिन्दु धर्मशास्त्रमा आफुलाई सम्मान नहुने ठाउँमा नबस् भनेर उल्लेख छ ।
फेरी त्यही धर्म मान्ने अर्को वर्ग जातीय विभेद्मा पर्छ भने ऊ त्यसमा कसरी बस्न सक्छ ?’ भन्दै प्रश्न समेत गर्नुभयो । यसका लागि सबैको सहयोगको आवश्यक रहेको उल्लेख गर्नुभयो । भुसालले जातीय विभेद्को अन्त्य र सामाजिक सद्भावका लागि एकता आवश्यक रहेको समेत बताउनुभयो ।
दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश विश्वकर्माले जातीय विभेद्को अन्त्य र सामाजिक सद्भावका लागि जिल्लाका प्रत्येक पालिकाका केन्द्रहरुमा सामूहिक रक्षा बन्धन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
हिन्दु धर्मको संरक्षण प्रवर्धन र सामाजिक सद्भावका लागि यस्ता प्रकारका सामाजिक कार्यले अन्तरघुलनलाई मद्दत पुराउने बताउनुभयो । त्यस कार्यक्रममा दलित समुदायहरु, राजनीतिक दल, सरकारी कार्यालयका प्रमुखहरु, विभिन्न सामाजिक संघसंस्थाका व्यक्तित्वहरु, बुद्घिजीवी, पत्रकार लगायतको सहभागीता रहने विश्वकर्माले उल्लेख गर्नुभयो ।
सामूहिक रक्षाबन्धन कार्यक्रमलाई सफल बनाउन रोम विश्वकर्माको संयोजकत्वमा व्यवस्थापन समितिको गठन गरिएको छ । विश्व हिन्दु महासंघका सचिव रामलाल पाण्डे, साझा मञ्चका दलवहादुर वि.क, झविन्द्र विश्कर्मा, कृष्ण नेपाली, कृष्ण विश्वकर्मा, धनेन्द्र विश्वकर्मा, उजेली चुदाँरा, यम वहादुर वि.क., जय वहादुर चुदाँरा, शेर वहादुर वि.क., जुना विश्वकर्मा सदस्य रहनुभएको छ ।
धर्म विश्वकर्माको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति निर्माण गरिएको छ । जसको सदस्यहरुमा लुमवहादुर सुनार, छविलाल विश्वकर्मा, नारायण वराल, कमला वराल, दिपक सुनार, लक्ष्मण परियार रहनुभएको छ । ऐतिहासिक त्यस कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न लागेको आयोजक समितिका सदस्य कृष्ण विश्वकर्माले जानकारी दिनुभयो । कार्यक्रम बालमन्दिर प्राङगणमा तम्घासमा श्रावण १९ गते विहान १० आयोजना गरिएको छ ।