काँग्रेस गुल्मीले वुझायो प्रजिअलाई ज्ञापनपत्र
गुल्मी । नेपाली काँग्रेस गुल्मीले विभिन्न मागहरु राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र हस्तान्तरण गरेको छ । शुक्रबार नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठद्वारा हस्ताक्षरित विभिन्न माग सहितको ज्ञापनपत्र प्रजिअ भरतकुमार शर्मालाई हस्तान्तरण गरिएको हो । ज्ञापनपत्र हस्तान्तरण गर्दै सभापति श्रेष्ठले मुलुकमा कोरोना भाइरस (कोभिड–१९)को प्रभाव शुष्मरुपमा फैलिरहेको तथ्य बाहिर आउँदा लकडाउन खुकुलो बन्दै गएको बताउनुभयो ।
‘अत्यन्तै जोखीम हुँदाहुँदै पनि जनजीवन झन सामान्य बन्दैछ ।’ उहाँले भन्नुभयो परिक्षणको दायरालाई फराकिलो बनाउन नसक्दा कोरोना भाइरस संक्रमण व्याक्तिबाट समुदाय तहमा फैलिएको आशंका गरिए पनि ठोस रुपमा कदम चाल्न नसकिनु दुःखद पक्ष भएको बताउनुभयो ।
पटक–पटकको आग्रह र जनताको आवश्यकता बनेको पिसीआर मेसिन तामझामका बीच जिल्ला प्रवेश र हस्तान्तरण गरिए पनि अहिलेसम्म प्रयोगमा आउन नसक्नुले जनताको आशामा तुषारापात भएको उल्लेख गर्नुभयो । सभापति श्रेष्ठले भन्नुभयो ‘जिल्लामा पिसिआर मेसिन अन्यन्तै ठुलो तामझामका साथ भित्र्याईयो । ठुलो कार्यक्रम गरी प्रचारप्रसार समेत गरियो । तर अहिलेसम्म प्रयोगमा आउन सकेन ।’
अहिलेको विषय परिस्थितिमा जनताको अत्यावश्यकता बनेको पिसिआर मेसिन छिटो भन्दा छिटो सञ्चालनमा ल्याउनका लागि समेत आग्रह गर्दै सभापति श्रेष्ठले ‘पिसिआर मेसिन सुनाउनका लागि, देखाउनका लागि, हल्ला गर्नका लागि मात्र होकी प्रयोगमा ल्याउनका लागि पनि हो ।’ यसमा किन ढिलाई भइरहेको भन्दै प्रश्न समेत गर्नुभयो ।
कोभिड–१९ को प्रकोप व्यापक भैरहेको सन्दर्भमा पिसीआर मेसिन प्राप्तीको प्रचारमुखी अभियान भन्दा पनि यसको समुचित प्रयोग महत्वपूर्ण विषय भएकाले छिटोभन्दा छिटो प्रयोगमा ल्याई परिक्षणको दायरा फराकिलो बनाउन जोड्दार माग गर्नुभयो ।
नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले विना प्राविधिक डिजाइनमा खोलिएका अव्यवस्थित सडकका कारण खोला खोल्सीहरु अबरुद्ध भै स्थान परिवर्तन गर्दै उग्र रुपधारण गर्दा बाढि पहिरोको विषम् परिस्थिती सिर्जना भएको उल्लेख गर्नुभयो । बाढि पहिरोका कारण सयौं घरपरिवार अहिले पनि कष्टकर जीवन बिताउन बाध्य भइरहेको उल्लेख गर्दै यस्तो असहज परिस्थितीको सामना गर्न सर्वपक्षिय सर्वदलिय सहकार्यबाट मात्र सम्भव हुने उल्लेख गर्नुभयो ।
तर सत्तामा रहेको स्थानीय तहका जनप्रतिनिधिहरुले विचार र आस्थाका आधारमा पक्षपात पूर्ण व्यवहार गर्नुले झनै चिन्ता थपेको बताउनुभयो । ‘एकातर्फ जिल्लामा बाढी–पहिरो, दैवी प्रकोपबाट जनता आहात भैरहेको बेला, कोरोना भाइरस (कोभिड–१९) को महाप्रकोपबाट जनताको जीवन सामान्यीकरण हुन सकिरहेको छैन् ।’
उहाँले भन्नुभयो ‘यस्तो अवस्थामा सुरक्षीत आप्रवासन परियोजना (सामी)का लागि आवश्यक कर्मचारी नियूक्तीमा जिम्मेवार स्थानीय तहबाट जनताको सुचनाको नैसर्गीक अधिकार हनन् हुने गरी आफ्ना नातागोता र आफन्तलाई भर्ना गर्ने नियोजीत गोप्य विज्ञापन प्रकाशनले जिम्मेवार राजनीतिक दल नेपाली काँग्रेस गुल्मीको गम्भीर ध्यान आकृष्ट भएको छ ।’
कोभिड विशेष कृषि कार्यक्रम २०७७ को अनुदान वितरण निर्देशिका विपरित भएकोमा केहि कृषकहरुबाट जानकारी गराउँदा समेत बेवास्ता गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको समेत बताउनुभयो ।
ज्ञापनपत्रमा पहिरोमा परि घाइते भएकाहरुको उपचारको व्यवस्था, विपद्पमा परेकालाई निष्पक्ष राहतको व्यवस्था, सिचाई कुलो, विद्युत, खानेपानी र बाटोको सिघ्र सञ्चालन गर्न आग्रह गर्दै दिगो पुर्नवासको व्यवस्था मिलाउन समेत अनुरोध गरिएको छ ।
जिल्लास्थित स्थानीय तहमा सुरक्षीत आप्रवासन परियोजना (सामी) को कर्मचारी भर्ना प्रकृया सुचनाको नैसर्गीक अधिकार हनन् हुने गरी सञ्चालन गर्न लागिएको कथित परिक्षा र अन्र्तवार्तालाई रद्ध गरि सर्वदलिय र सर्वपक्षिय सहमतिमा मात्र अगाडी बढाउन जोड्दार माग गरिएको छ ।
त्यस अवशरमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले आफ्नो ध्यानकर्षण जनाउँदै पहिरो प्रभावितहरुको उद्धार, राहतमा अहिलेसम्म चालिएको कदमहरुको जानकारी गराउनुभयो । तत्कालिन अवस्था देखि नै जिल्लामा भएका विपद्का घटनामा सबै राजनैतिकदलहरुको सहकार्यमै अगाडि बढिरहेको बताउनुभयो ।
कोभिड–१९ को परिक्षणका लागि बाहिर पठाउँदा समयमै परिक्षण नतिजा नआउँदा जिल्लामै कोभिड–१९ परिक्षण ल्याब सञ्चालन गर्ने निर्णय भएको उल्लेख गर्नुभयो । यसका लागि रेसुङ्गा नगरपालिकाले जिम्मा लिएको बताउँदै ल्याब सञ्चालनका लागि भैरहवाबाट प्राविधिक आएर निरिक्षण गरेको बताउनुभयो । सबैको समन्वयबाट मात्र जिल्लाको विकास हुने प्रजिअ शर्माले जोड दिनुभयो ।