काँग्रेसको किचलोले महाधिबेशन प्रभावित हुने सम्भावना
काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टीको महाधिवेशन प्रक्रिया शुरु भइसकेपछि सभापति शेरबहादुर देउवाले विभिन्न विभागहरुमा आफ्ना पक्षका कार्यकर्ता भर्ती गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट बनेको छ ।
नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिदै जाँदा सभापति शेरबहादुर देउवासँग चिढिनेहरुको संख्या वढ्दै गएको छ । देउवाले रामचन्द्र पौडेललगायतका विभिन्न नेताको कुरा नसुनेर अघि बढ्न खोजेको आरोप लगाइएको छ । सभापति देउवाले आलोचकहरुको सुझाव विपरित २० वटा विभागको संयोजक तोकेका छन् भने सदस्यको मनोनयन पनि आपैmले गरिरहेका छन् । यसले गर्दा कांग्रेसभित्रको तनाव, गुटबन्दी र ध्रुविकरण बढ्दै जाने र महाधिवेशन नै प्रभावित हुने आंशका बढेको छ ।
देउवाका कट्टर आलोचक पौडेललगायतका नेताले सभापति अधिनायकवादी हुन खोजेको आरोप लगाएका छन् । प्रजातान्त्रिक पार्टीभित्र प्रजातन्त्र हराउँदै गएको र सम्वादहीन अवस्था सिर्जना भएको पनि उनीहरुको आरोप छ ।
पार्टी केन्द्रीय कार्यालयमा पौडेल पक्षको वैठकमा देउवाका आलोचकहरुले भारदारी सभाको शैलीले देउवाले ४ सय ७९ जनालाई ‘जेष्ठ राजनीतिज्ञ सभा’ मनोनित गरेको भन्दै विरोध जनाएका छन् ।
पौडेल पक्षको वैठक सकिनासाथ मनोनितहरुको नामावली सार्वजनिक गर्नुलाई देउवा विरोधीहरुले आफ्नो अपमान ठानेका छन् । कसैको कुरा नसुनेर आफ्ना सीमित समर्थकको सल्लाहमा चल्न खोज्दा देउवाको आलोचना भइरहेको छ । देउवासँग उतिसारो नरिसाएका कृष्णप्रसाद सिटौला पनि अहिले क्रुद्ध देखिन्छन् भने रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह, शशांक कोइरालालगायतका धेरै नेताले सभापति देउवाको कार्यशैलीको निन्दा गरेका छन् ।
देउवाको आलोचना गर्दै पौडेल समूहले असहमति पत्र नै दर्ता गरेको छ । सभापतिलाई एक्लै निर्णय नगर्न पटकपटक सुझाव र सल्लाह दिएपनि नसुनेको उनीहरुको गुनासो छ । पौडेल समूहले महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा सभापति देउवाले विभिन्न विभागमा सदस्य थप्नु गलत भएको बताएका छन् ।
पौडेल पक्षधर नेताहरुको भेलाले देउवाको विकल्प खोज्नैपर्ने बेला आएको निष्कर्ष निकालेको छ । पार्टीका महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, रामशरण महत, मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायतका नेताले पौडेलको समर्थन गर्दै देउवाको कार्यशैलीको निन्दा र भत्र्सना गरेका छन् ।
यसैगरी देउवालाई सम्झाउन गएका पौडेल पक्षका नेतालाई ‘तपाईहरुले जति विरोध गरेपनि अब हाम्रो गति रोकिदैन’ भन्ने चेतावनी दिएपछि पौडेलपक्ष थप क्रुद्ध भएको छ ।
उता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल आफ्ना केही नेता र कार्यकर्ता सहित नेपाली कांग्रेसमा प्रवेश गरेपछि त्यसले पनि पार्टीमा चर्चा पाएको छ । तर धनकुटा जिल्लाका कांग्रेस कार्यकर्ताहरुले सूर्यबहादुर थापाले आजीवन कांग्रेसीहरुलाई दुःख दिएको भन्दै उनका छोराले कांग्रेस प्रवेश गर्दैमा बाबुले गरेका कुकर्म क्षम्य नहुने तर्क गरेका छन् ।
पाटीभित्र देखिएको विग्रह र मनोवैज्ञानिक दुरीले नेपाली कांग्रेसलाई अरु कमजोर बनाउने देखिन्छ । महाधिवेशनको मुखमा देउवाले आफू बलियो हुन जेजस्ता काम गरिरहेका छन्, त्यसले यसलाई आघात पुर्याउने आशंका पनि त्यतिकै छ ।
पुर्व प्रधानमन्त्री, स्वर्गीय सुर्य बहादुर थापाका छोरा सुनिल गत मंगलबार नेपाली काँग्रेसमा प्रवेश गरेसँगै पुर्वपञ्चहरुको पार्टीमा सनसनी मच्चिएको छ । यता नेपाली काँग्रेसमा उनको प्रवेशलाई लिएर खासै उत्साह थपिएको पाइएन । सर्वमान्य नेता स्वर्गीय गणेशमान सिंहका छोरा प्रकाशमानले सुनिलको नेपाली काँग्रेस आगमनलाई स्वागतयोग्य भनेपनि समय उचित नभएको प्रतिक्रिया दिएका छन ।
पंचायतकालमा प्रजातन्त्र ल्याउनको लागि राजनीति लडाईं लडदा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भटट्राई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीलगायत तत्कालिन नेताहरुलाई दुख दिने पंचायती व्यवस्था नै थियो । त्यसको हर्ताकर्ता, हिमायती र शासक भने सुर्यबहादुर नै थिए । ०३६ सालमा भएको जनमत संग्रहमा बहुदललाई हराएर पंचायती व्यवस्थाको पक्षमा परिणाम ल्याउन सुनिलका पिताको योगदान मुख्य रहेको घाम जतिक्कै छर्लङग छ र त्यसबेला सुनिका बुबा सुर्यबहादुर नै मुलुकको प्रधानमन्त्री थिए ।
यी घटनालाई नजिकबाट नियालेर अध्ययन गरेकोले पनि होला प्रकाशमान सिंहले थापाको नेपाली काँग्रेस प्रवेशलाई सुखद मान्न सकिरहेका छैनन ।
सँगसँगै २०७४ सालमा भएको आम चुनावमा पार्टीका आधिकारिक उम्मेदवार र नेताहरु बिरुद्ध बागी बनेकाहरुलाई पनि यही बेलामा पार्टीले कारवाही गरेको रिर्पोट बाहिर ल्याइयो ।
नेपाली काँग्रेसले कित उनीहरुलाई त्यही बेला कारवाही गर्नुपर्दथ्यो, कित सुनिलहरुको पार्टी प्रवेशपछि रिर्पोट सार्वजनिक गर्नुपर्दथ्यो । जीवनभर नेपाली काँग्रेसमा लागेर जिवन समर्पन गरेका नेताहरुलाई कारवाही गर्नु र सँगसँगै पुर्व पञ्चहरुलाई पार्टीमा भित्राउनु संयोग मात्र भएको मान्न सकिदैन । सभापति देउवाले यसमा केही न केही राजनीति सन्देश दिन खोजेकै हुनुपर्दछ भन्ने अडकलबाजी राजनीतिमा बृतमा हुन थालेको छ ।
कुनै बेला नेपाली काँग्रेसमा गोबिन्दराज जोशी जस्ता हस्तिहरु स्वर्गीय प्रधानमन्त्री एवम नेता गिरिजा प्रसाद कोइरालाका अनुयायी थिए । कोइराला छदैं गोबिन्दराज र खुमबहादुरहरुलाई भ्रष्टाचार मुद्धा लगाएर जेल पठाउन खोजियो । खुमबहादुर जेल पनि परे । अहिले उनी यस धर्तीमा छैनन । गोबिन्दराजको मुद्धा अदालतमा बिचाराधिन अवस्थामा रहेको छ । अहिले आएर उनलाई पार्टी अनुशासन उल्लघन गरेको भन्दै कारवाही गरिएको छ । नेता रामचन्द्र पौडेलको बिरुद्धमा तनहुँबाट प्रतिनिधि सभा उम्मेदवार बनेर हराएको भन्दै कारवाही हुनु र सुनिलहरुको पार्टी प्रबेश सँगसँगै हुनुले नेपाली काँग्रेसका मात्र होइन पंचहरुको पार्टीमा पनि संसय जन्मिएको छ ।