मेलम्ची पहिरोबाट ७ जनाको ज्यान गयो
दुई मृतकको पहिचान
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को पहिरोमा पुरिएकाहरुमध्ये सात जनाको शव फेला परेको छ । मृतकमध्ये दुई जनाको मात्र परिचय खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरी दुईजनाको मात्र शव पहिचान भएको हो । अन्य मृतकको पहिचान हुन बाँकी छ ।
उनीहरु सबै निर्माण कार्यमा कार्यरत मजदुरहरु हुन् । कभर्ड हल निर्माणमा दुई भारतीय नागरिकसहित नौ जना मजदुर खटिएका थिए । उनीहरु बस्दै आएको टहरोलाई गएराति आएको पहिरोले पुरेको थियो ।
प्रहरीले घटनास्थलबाट भारतीय नागरिक बारु साहलाई जीवितै उद्धार गरेको थियो । डीएसपी काफ्लेका अनुसार उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
अर्का एक भारतीय नागरिक राजेन्द्र चौरसिया पनि पहिरोमा पुरिएका छन् । भारतीय नागरिकहरुको ठेगाना खुल्न बाँकी रहेको छ ।